म्यानमारसँग सीमा जोडिएका भारतीय राज्यहरुमा कडाइ

International

म्यानमारसँग सीमा जोडिएका भारतीय राज्यहरुले म्यानमारका शरणार्थीहरुलाई भारतमा प्रवेश गर्न नदिने भएका छन्। मणिपुर राज्य सरकारले सीमावर्ती जिल्लाहरुलाई म्यानमारका शरणार्थीहरुका लागि शरणार्थी क्याम्पहरु नबनाउन निर्देशन दिएको छ।

उक्त निर्देशनअघि भारतको केन्द्रीय गृह मन्त्रालयले मिजोरम, नागाल्याण्ड, मणिपुर र अरुणाचल प्रदेशलाई म्यानमारबाट आउने अवैध शरणार्थीलाई सीमा क्षेत्रमा प्रवेशमा रोक लगाउन निर्देशन दिएको थियो। मार्च १२ मा लेखिएको पत्रमा गृह मन्त्रालयले म्यानमारमा उत्पन्न परिस्थितिका कारण सीमा क्षेत्रबाट ठूलो संख्यामा शरणार्थीहरु प्रवेश गर्ने सम्भावना रहेको भन्दै उनीहरुलाई भारत प्रवेशमा रोक लगाउन निर्देशन दिएको थियो। साथै‚ गृहले कोही अवैध रुपमा भारत छिरेको भए उनीहरुलाई तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो।

यसैबीच म्यानमारमा जननिर्वाचित सरकारलाई नियन्त्रणमा लिएर सैनिक शासन सुरु गरेका सेना प्रमुख मिन आङले शनिबार ठूलो संख्यामा सर्वसाधारण मारिएपछि भव्य पार्टी गरेका छन्। सीएनएनका अनुसार मिन आङले सैन्य पोशाकमै ठूलो पार्टी गरेर रमाइलो गरेका तस्बिरहरु सार्वजनिक भएका छन्।

शनिबार भएका प्रदर्शनमा देशभर ११४ जनाको मृत्यु भएको थियो। ४० वटा सहरमा सुरक्षाकर्मीले गरेको अत्यधिक बल प्रयोगबाट थुप्रै बालबालिकासमेत मारिएका थिए। गत फेब्रुअरी १ मा सैनिकले जननिर्वाचित सरकारलाई नियन्त्रणमा लिएर सत्ता हत्याएपछि जारी प्रदर्शनमा ४०० भन्दा बढी सर्वसाधारण मारिएका छन्।