पानी उपयोग नगर्नेले शुल्क र जरिवाना नतिर्नू : प्रधानमन्त्री

News

प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानीको सेवा प्राप्त नगरेका सेवाग्राहीलाई शुल्क र जरिवाना तिर्न नपर्ने बताएका छन्। उनले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै शुक्रबार यस्तो बताएका हुन्।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सम्बोधनका क्रममा उपत्यकाका धेरै घरहरुमा एक थोपा पानी नआउँदा पनि उपत्यकावासी पानीको शुल्क र जरिमाना तिर्न बाध्य भएको भन्दै त्यस्ता सेवाग्राहीलाई शुल्क–जरिमाना मिनाहा गर्न कार्यक्रममा उपस्थित राष्ट्रपति र प्रधानमन्त्री समक्ष प्रस्ताव राखेका थिए।

प्रमुख शाक्यको उक्त प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री ओलीले सेवा प्राप्त नगरेका सेवाग्राहीबाट सेवामा शुल्क र अझ त्यसमा पनि जरिवाना लिने गरेको कुरा सुन्दा अचम्म लागेको बताए।

‘जसले सेवा नै प्राप्त गरेको छैन उसले सेवा नै प्राप्त नगरी सेवा शुल्क तिर्ने कुरा हुन सक्दैन। यो भएको छ भने सच्याइने छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो कुनै पनि निकायबाट भएको छ भने भन्न चाहन्छु, जहाँ सेवा दिएको छैन त्यहाँ सेवा शुल्क लिन पाइँदैन। जुन सेवा लिन मिल्दैन त्यो सेवामा जरिवाना गर्न झन मिल्दैन।’

सेवाग्राहीलाई सेवा दिन नसक्नु सरकारको कमजोरी भएको भन्दै त्यस्तो अवस्थामा सेवाग्राहीलाई जरिमाना तिराउने कुरा सम्भव नहुने उनले बताए।  ‘सरकारले सेवा उपलब्ध गराउन सकेको छैन। सेवा पुर्‍याउन नसकेकोमा क्षमा याचना गर्नुपर्ने ठाउँमा उल्टै जरिवाना सरकारले तिराउने कुरा हुँदैन,’ उनले भने, ‘सेवा प्राप्त नगरेका सेवाग्राहीले सेवा शुल्क पनि तिर्नु पर्दैन र त्यसबापत कुनै जरिमाना पनि तिर्नुपर्दैन।’

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले आजको दिन काठमाडौंबासीका लागि उत्साह दिन भएको भन्दै यस्तो उत्सवमा सहभागी हुन पाउँदा खुशी लागेको बताए। उनले धेरै समयदेखि उपत्यकामा खानेपानीको हाहाकार भएको सबैलाई स्मरण नै रहेको भन्दै मेलम्चीको पानी उपत्यकावासीले पिउने सपना साकार भएकोमा खुशी व्यक्त गरे।

‘मेलम्चीको पानी उपत्यकामा आउँदै गर्दा अहिले पनि सबै धारामा पानी पुग्ने अवस्था छैन। कतिपय ठाउँमा नयाँ पाइप बिच्छ्याएको छ भने कतिपय ठाउँमा पुरानै पाइपबाट वितरण भैरहेको छ,’ महानगरपालिकाको प्रमुख, उपत्यका नगरपालिका फोरमको अध्यक्षको हैसियतले भने,’ सबै ठाउँमा नयाँ पाइप बिच्छाउने कुरामा सम्वन्धित नियकाको ध्यान पुगोस् भन्ने चाहन्छु।’

महानगरपालिकाले सडक बनाउँदै जाने र मेलम्ची खानेपानीले खन्दै जाने भएकाले धेरै बजेट खन्ने र पुर्नमा खर्च भइरहेको शाक्यले स्मरण गराए। ‘हामी बनाउनमा र उहाँहरु खन्नमा प्रतिस्पर्धा गर्ने हुँदा आजको मितिबाट त्यो प्रतिस्पर्धाको अन्त्य भएको उनले बताए। अब सडकलाई चिल्लो बनाउने हिलो–धुलोमुक्त बनाउने अभियानमा लाग्ने उनको भनाइ छ। उनले भने,’ अभियानले सार्थकता पाउने छ। हामी केन्द्र र प्रदेश सरकारसँग पनि सहकार्य गरेर अघि बढ्छौँ।’