उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यावसायिकता र मागका आधारमा मात्रै नयाँ पम्प खोल्नुपर्नेमा जोड दिएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनका अवसरमा उनले उपलब्धि नहुने ठाउँमा लगानी नगर्न व्यवसायीलाई सुझाए ।
‘व्यावसायिकताको आधार, गुणस्तर र मागका आधारमा मात्रै नयाँ पम्प सञ्चालन गरौं । उपलब्धि नहुने ठाउँमा लगानी नगरौं, पम्पको विकल्पमा अन्य ठाउँमा लगानी गर्न सकिन्छ,’ मन्त्री भट्टले भने, ‘सरकारले औद्योगिक क्षेत्र विस्तार गरिरहेको छ । त्यतातिर लगानी गरौं ।’
सर्वसाधारणको हित र आपूर्तिमा सहजता नै मुख्य मन्त्रालयको उद्देश्य रहेको वााणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बताए । त्यसतर्फ सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । भण्डारण अभावका कारण समयसमयमा पर्याप्त इन्धन दिन समस्या हुने गरेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको भनाइ छ । ‘त्यो भनेका पूर्वाधारकै कमीका कारण हो । एउटा पूर्वाधारले करोडौं रुपैयाँ बचतसँगै आपूर्तिमा सहजता ल्याउन सक्छ । पेट्रोलियम पाइपलाइनबाट एक महिनामै एक लाख ५० हजार किलोलिटर इन्धन आयात गरेका छौं । यसले धेरै रकम बचत गरेको पनि छ,’ उनले भने, ‘१० वर्षमा लगानी नउठ्ने भए पूर्वाधारमा लगानी गर्दैनौं ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको निजी क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको र राज्यप्रति सधैं जिम्मेवार रहेको बताए । आफ्नै जीवनकालमै मुलुकलाई समृद्ध बनाउन भिजन पेपर तयार गरिएको उनको भनाइ छ ।
‘व्यवसायीले ऐन–नियमको परिधिभित्र रहेर नाफा राखेका हुन्छन् । राज्यप्रति जिम्मेवार पनि छौं । बन्दाबन्दीमा समेत सरकारले ६५ प्रतिशत राजस्व संकलन गरेको छ,’ उनले भने, ‘जुन दक्षिण एसियाकै सबैभन्दा बढी हो । यो सबै उद्यमी व्यवसायीकै कारण सम्भव भएको हो ।’ अनुगमनका नाममा व्यवसायीलाई पीडा र न्यायिक निष्कर्ष ननिस्कँदासम्म मानमर्दन नगर्न उनले आग्रहसमेत गरे । सरकारले व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने र व्यवसायी पनि अनुशासित हुनुपर्ने चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको भनाइ छ ।