रोकियो मानिसको रगत राखिएको ‘शैतानी जुत्ता’को बिक्री

International

चर्चित कम्पनी नाइकीले ब्रुकलिनको कला सङ्ग्रहालय एमएससीएचएफलाई मानिसको रगतको थोपा भएको विवादित ‘शैतानी जुत्ता’विरुद्ध दायर मुद्दा जितेको छ।

उल्टो क्रस, पेन्टाग्राम र ल्युक १०ः१८ लेखिएको उक्त जुत्ता नाइकीको एअर म्याक्स नाइन्टीसेभेन एस जुत्ताको स्वरूप परिवर्तन गरेर तयार पारिएको हो। त्यसको मूल्य १,०१८ डलर राखिएको छ  ।

एमएससीएचएफले र्‍यापर लिल नास एक्ससँग सहकार्य गरेर ६६६ जोर जुत्ता सोमवार सार्वजनिक गरेको थियो। नाइकीले आफ्नो ट्रेडमार्कको दुरुपयोग भएको दाबी गर्दै त्यसको बिक्री रोक्न मुद्दा दायर गरेको थियो।

ती सबै जुत्ताहरू एक मिनेटभन्दा कम अवधिमा बिक्री भएको र एउटा बाहेक सबै हुलाकमार्फत् पठाइसकिएको बताइएको छ। कालो र रातो रङ्गका जुत्ता लील नास एक्सको नयाँ गीत सार्वजनिक भएको अवसरमा सार्वजनिक गरिएको थियो।

यूट्युबमा अघिल्लो साता सार्वजनिक भएको गीतको म्युजिक भिडिओमा ती र्‍यापरले नाइकी ट्रेनर्स लगाउँदै स्वर्गदेखि नर्क पुग्ने एउटा बाटोमा चिप्लिरहेको देखाइएको छ। उक्त तस्बिर र जुत्ताले बाइबलको श्लोक ल्युक १०ः१८ लाई जनाउँछ।

प्रत्येक जुत्ताको सोल नाइकीको प्रख्यात सोल हो जसमा एक थोपा मानिसको रगत सहित थोरै रातो मसी राखिएको छ। ती रगतका थोपाहरू एमएससीएचएफका सदस्यहरूले दान गरेका हुन्।