पानी तान्ने मेसिन चोरी गरेको आरोपमा कुटपिट गर्दा चाँगुनारायणमा काभ्रेपलाञ्चोकको कुसादेवीका कृष्ण गुरुङको मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ।
चाँगुनारायण नगरपालिका–२ बर्खेपाटीस्थित विनोद लाखाको च्याउ खेतीमा पानी लगाउन बनाइएको पोखरीको मेसिन चोरी गरेको आरोपमा आइतबार राति कृष्णमाथि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।
घटनामा संलग्न भएको आरोपमा चाँगुनारायण-२ का ५० वर्षीय टेकबहादुर केसी, ३२ वर्षीय नवीन कोजु, भक्तपुर नगरपालिका–७ का ३७ वर्षीय विनोद लाखा, दोलखाको भिमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–२ बस्ने ३८ वर्षीय कमल खत्री (फुँयाल) र सुनसरीको बर्जु गाउँपालिका–३, घर भई हाल चाँगुनारायण–३ बस्ने ३४ वर्षीय सनिसकुमार रायलाई पक्राउ गरिएको प्रहरीले जनाकारी दिएको छ।
प्रहरीका अनुसार स्थानीयले पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला पारी कुटपिट गरी प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी प्रभाग व्यासीका प्रहरी नायब उपरीक्षक वीरबहादुर भण्डारी नेतृत्वको टोलीले घाइते कृष्णलाई अस्पताल लगिएको थियो।
घटनास्थल पुग्दा करिव ३० वर्षीय कृष्णको नाकबाट रगत बगिरहेको र मादक पदार्थको गन्ध पनि आइरहेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। सोधपुछका घाइतेले आफू काभ्रेपलाञ्चोकको कुसादेवीका कृष्ण गुरुङ बताए पनि प्रष्टसँग भनेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। चिकित्सकका अनुसार कुटपिटका कारण कृष्णको दिमागमा रक्तश्राव भई मृत्यु भएको हो।
उचाई ५ फिट १ इन्च, छोटो कपाल, पातलो शरीर, निधारको बाँयातर्फ पुरानो घाउको खत, आकाशे नीलो रंगको सर्ट, खैरो रंगको कपडाको पाइन्ट लगाएको, करिब अन्दाजी ३० को कृष्ण गुरुङ भनिएका व्यक्तिको आफन्त, परिवारजन हालसम्म पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताए।