जिल्ला प्रशासन कार्यालयले बिस्का जात्रा रोक्ने निर्णय गरेपछि स्थानीय आक्रोशित बनेका छन्। भारतमा कोरोना संक्रमण बढ्दै गएको भन्दै नेपालमा समेत संक्रमणको जोखिम बढ्दै गएको कारण देखाउँदै प्रशासनले बिस्कामा य: सिं ठड्याउने, भैल: ख: (भैरवनाथको रथ) तान्ने लगायतका गतिविधि नगर्ने निर्णय गरेको थियो। यता, गुठीयार र स्थानीयले भने प्रशासनले कोभिड १९ को बहाना बनाउँदै फेरि एक्लौटी रुपमा जात्रा र नेवार संस्कृतिमाथि प्रहार गरेको भन्दै असन्तुष्टी पोखेका हुन्।
आज टौमढी स्कवायर / ङातापोल क्षेत्रमा भेला भएकाहरुले जिल्ला प्रशासन कार्यालयको निर्णयको विरोध गर्दै यो वर्ष जसरी भएपनि बिस्का: संचालन गर्ने चेतावनी दिएका छन्। करिब ५०० को हाराहारीमा युवायुवती र वृद्धवृद्धाहरु समेतको सहभागितामा ङातापोल क्षेत्रमा प्रदर्शन गरिएको थियो। त्यसपनि ‘बिस्का रोक्न पाइँदैन’, ‘सभा सम्मेलन गर्न पाइने जात्रा गर्न नपाइने?’ लगायतका नारा लगाउँदै स्थानीयले नगर परिक्रमा गरेका थिए।
धिमे र भुस्या बजाउँदै सहभागी भएकाहरुले जिल्ला प्रहरी कार्यालय बाहिर पुगेर केहीबेर नाराबाजी गरेका छन्। त्यसपछि फेरि टौमढी पुगेर विरोध प्रदर्शन जारी राखेका थिए।
टौमढी क्षेत्रमा भैरवनाथको रथ निर्माण अन्तिम चरणमा पुगिसकेको छ। यस्तै, नयाँ य:सिं समेत ल्याइएको छ। गत वर्ष भने कोरोना संक्रमणका कारण बिस्का जात्रा रोकिएको थियो।
स्थानीयले भने यस वर्ष कुनैपनि हालतमा जात्रा नरोकिने भन्दै प्रशासनले बल गरेर जात्रा रोक्न कोसिस गरे विद्रोह गर्ने चेतावनी समेत दिएका थिए।
काठमाडौं उपत्यकामा जात्रा पर्व सुरु हुने बेलामा कोरोना संक्रमणलाई देखाएर सबै पर्व फेरि रोक्ने तयारी भएपछि उपत्यकाका नेवार समुदाय असन्तुष्ट बनेको छ। बाहिरबाट संक्रमण आउन नदिनभन्दा सबै खुला गरेर जात्रा पर्वमाथि नै सरकारले सरकारले हस्तक्षेप गरेको उनीहरुको बुझाइ छ। यता काठमाडौंमा पनि प्रशासनले भीडभाड गर्ने कार्यक्रम नगर्न भने पनि जनबहा: द्य: (सेतो मछिन्द्रनाथ) को रथ यात्रा गरिने भएको छ। थिमिमा पनि बिस्का, सिन्दुर जात्रा र जिब्रो छेट्ने जात्रा गरिने भएको छ। साँखु, टोखामा समेत बिस्काको तयारी भइरहेको छ।
ठूलो संख्यामा राजनीति जमघट, हजारौंको उपस्थितिमा खेलहरु संचालन गर्दै गर्दा जात्रा पर्वलाई लक्षित गरेको विरोध भइरहँदा आज भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन समित र बिस्का जात्रा सम्बन्धित गुठियारहरुको बैठक बस्यो। बैठकले जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रले रथ यात्रा नगर्न र य:सिं नठड्याउने आग्रह गरिसकेकोले टोलटोलमा हुने बिस्का सम्बन्धी जात्राहरु भने संचालन गर्ने निर्णय गरेको छ।