परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दार्चुलाको महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धनको नेपाल र भारतका नापी अधिकारीले स्थलगत अध्ययन गर्ने बताएका छन । प्रतिनिधिसभाको सोमबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले अप्रिल १२ मा नेपाल र भारतका दुवै देशका नापी टोलीले स्थलगत अध्ययन गर्ने तय भएको जानकारी गराए । मन्त्री ज्ञवालीले महाकाली नदीको नेपाल भारत सीमामा भारतले सीमा मिचेर पर्खाल बनाएको भन्ने जानकारी संसद र सञ्चारमाध्यमा सार्वजनिक भएपछि सरकारले पुस २२ गते प्रमुख नापी अधिकृतको नेतृत्वमा एक टोली बनाएर एउटा स्थलगत अध्ययन गरेको समेत बताए ।
यसैगरी मन्त्री ज्ञवालीले म्यानमार हिंसाप्रति नेपाल सरकारको गहिरो चिन्ता र चासो रहेको बताए । शान्तिपूर्ण प्रदर्शनमा पनि धेरै नागरिकको ज्यान गएको आफूहरुले देखेको भन्दै मन्त्री ज्ञवालीले त्यसविरुद्ध संयुक्त राष्ट्रसंघले पारित गरेको ‘रिजुलोसन’मा समेत नेपालले सर्मथन जनाएको बताए ।
यस्तै मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको केही दिन पहिलेको बंगलादेश भ्रमणबारे पनि प्रतिनिधिसभालाई जानकारी गराएका थिए ।।