
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न १४ बुँदे सूचना जारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएपछि जिल्ला प्रशासनले सो निर्णय पालनाका सम्बन्धमा विभिनुन १४ बुँदे आदेश जारी गरेको हो ।कोरोना नियन्त्रणका लागि सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रशासन कार्यालयले सरकारले वैशाख ६ गते गरेका निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरको छ ।
कोरोना संक्रमणबाट बच्न व्यापक रुपमा प्रचार प्रसार गर्ने, सरोकारवालाहरु सहितको संलग्नतामा अनुगमन गर्ने निर्णय भएको छ ।
सरकारले २०७८ वैशाख मसान्तसम्म शैक्षिक संस्थाहरु भौतिक उपस्थिति नगराइकन भर्चुअल माध्यमबाट सञ्चालन गर्ने, रात्रिकालीन व्यवसाय बन्द गर्ने, भेला, जुलुस तथा आमसभा नगर्ने र विवाह व्रतवन्ध जस्ता सामाजिक काममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ।
प्रशासन कार्यालयहरुले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन अनुरोध गरेका छन्।
प्रशासन कार्यालय तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएको छ।
