भारततिर निर्यात हुँदै अक्सिजन

News

काठमाडौं । दोस्रोे लहर कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ ।
भारतमा संक्रमितको संख्या ह्वातै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि केही व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यसँग सम्बन्धित सामग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए ।

व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो मात्रामा रहे पनि माग बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ भने अस्पताल भर्ना भएकालाई अक्सिजन दिनुपरिरहेको छ ।
‘यहाँ पनि अक्सिजन अभाव हुने जोखिम देखेर हाम्रा व्यवसायीहरुलाई निकासी नगर्न आग्रह गरेका छौं’, संघका अध्यक्ष घिमिरेले भने ।

संघले मंगलबार आफ्ना साधारण सदस्य र आजीवन सदस्यलाई छिट्टै अक्सिजन अभाव हुन सक्ने भन्दै अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, नेबुलाइजर, हाइ फ्लो अक्सिजन क्यानुला र अक्सिजनसँग सम्बन्धित सामग्री निर्यात नगर्न सूचना जारी गरेको हो जसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या र अर्थ मन्त्रालयमा समेत पठाइएको छ ।