दक्षिण एसियाली मुलुकमा छोरीलाई लक्ष्मीका रुपमा पूजा गरिन्छ। यद्यपी नयाँ सन्तानका रुपमा छोरी जन्मिँदा भने परिवार खुशी हुँदैनन्। छोरा जन्मिँदा उत्सव मनाउने परिवार छोरी जन्मिँदा निरास बन्छ।
त्यसले गर्दा कतिपयले पेटमा बच्चा हुर्कँदै गर्दा छोरी रहेको थाहा पाएपछि चिकित्सकसँग सल्लाह गरेरै भ्रूण हत्या हुने गरेका छन्। तर, भारतको राजस्थानमा छोरीको जन्मलाई लिएर उत्सब मनाइएको छ।
राजस्थानको नागौर जिल्लाको निम्बडी चन्दवाता गाउँका ५५ वर्षीय किसान मदन प्रजापतको परिवारमा ३५ वर्षपछि छोरीको जन्म भएपछि उत्सव मनाइएको हो। उनले मनाएको उत्सवलाई लिएर राजस्थान भरी एक प्रेरणादायी पहलको रुपमा लिइएको छ। प्रजापत भन्छन्, ‘मेरो एक छोरी र एक छोरा छन्। मेरो छोरीको उमेर ३५ को भयो, छोराको २१ वर्ष।’
उनले अघिल्लो वर्ष छोराको बिहे गरिदिएका थिए। बुहारी चूका देवीले अप्रिल २ मा छोरीको जन्म दिएपछि प्रजापतको खुशीको सिमा छैन।
नातिनी जन्मनुभन्दा एक हप्ता अगाडिबाट नै प्रजापतले घरमा दिपावली जस्तो उत्सव मनाएका थिए।
प्रजापत भन्छन्, ‘म मेरो नातिनीको स्वागतलाई अविस्मरणीय बनाउन चाहन्थेँ। त्यसैले अस्पतालमा जन्म भएपछि गाउँसम्म हेलिकप्टरमा ल्याएँ।’
सामाजिक कार्यकर्ता राजन चौधरीले समानताका लागि केहि दशकदेखि राजस्थानमा काम गर्दै आएका छन्। उनी यस परिवारमा बालिकालाई दिएको सम्मानबाट खुसी छन्।
‘यदि समाजमा यस किसिमको सोच विकास हुन्छ भने छोरीहरुलाई बचाउनका लागि विनय गरिरहनुपर्ने थिएन। प्रजापतको यो कार्यले छोरीलाई समान गर्नुपर्छ भन्ने मान्यता स्थापित गरिदिएको छ’, उनी भन्छन्,’ मैले वर्षौदेखि लैंगिक समानताको बारेमा काम गर्दै आउको छु। तर, यो घटना पहिलोपटक देख्दैछु।’
प्रजापतको यो कदमलाई प्रेरकका रुपमा अर्थ्याउँछन् उनका साथी शिलेन्द्र। उनी भन्छन्, ‘छोराछोरी समान हुन् भनेर हाम्रो गाउँमा एउटा परिवारले उदाहरण दिएका छन्। म एकदमै खुशी छु।’
बच्चालाई हेलिकप्टरबाट हर्सोल गाउँ निम्वडी पुग्दा गाउँलेहरू अत्यन्त खुशी भएको उनले बताए। नागौर जिल्ला अधिकारी डा. जीतेन्द्रकुमार सोनीले छोरीहरुका लागि धेरै प्रयास गर्दै आएका छन्। यसको कारण जनतामा चेतना पनि बढेको स्थानीयले बताएका छन्।
‘शिक्षाबिना मानिस जनावरजस्तै हुन्छ’। तर प्रजापत परिवारले मानववाद र समानताको लागि प्रस्तुत गरेको उदाहरण प्रशंसनीय छ।
प्रजापतले ७ कक्षासम्म मात्र पढेका छन्। उनकी श्रीमती मुन्नी देवी कहिल्यै स्कूल जान पाइनन्। उनीहरू कृषि कर्म गर्छन्।
प्रजापतका छोरा हनुमानले ८ कक्षासम्म पढेका छन् र उनकी श्रीमती चूकादेवीले विद्यालय शिक्षासमेत पूरा गरेका छैनन्। हनुमान भन्छन्, ‘हामीसँग जग्गा छ र हाम्रो परिवार खेती गर्छौं।’
उनले आफ्नी छोरीलाई राम्रो शिक्षा र पूर्ण स्वतन्त्रताको साथ सफल भविष्य दिन चाहेको बताए।
हनुमान भन्छन्, ‘गर्भमा छोरीहरूलाई मार्छन्। म विश्वास गर्छु कि केटीहरूको पनि जीवन हुन्छ। उनी केही गर्न चाहन्छन्, छोरीहरूलाई अवसर दिनुपर्छ।’