गण्डकीका प्रदेश प्रमुखको अभिव्यक्तिप्रति तीन दलको आपत्ति

Politics

गण्डकी प्रदेश प्रमुखमा सीता पौडेलले दिएको अभिव्यक्ति गैरसंवैधानिक भन्दै विपक्षी तीन दलले आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् । बुधबार पदभार गर्ने क्रममा सञ्चारमाध्यममा बोल्दै प्रदेश प्रमुख पौडेलले सभामुखको राजीनामा माग गरेकी थिइन् । सोमबार गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएकी पौडेल मंगलबार पोखरा आएकी थिइन् ।

प्रदेश प्रमुख निष्पक्ष हुनुपर्ने र राजनीतिक विषयमा बोल्न नहुने भए पनि पौडेलले भने गण्डकी सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव निष्क्रिय रहेको प्रतिक्रिया दिएकी थिइन् । प्रतिपक्षको संवैधानिक कार्यबाट अतालिएर सत्तापक्षको पक्षपोषण हुने गरी दिएको अभिव्यक्ति अस्वाभाविक र चिन्ताजनक रहेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै संविधानको कुन धारा, उपधारा र ऐनले अविश्वासको प्रस्ताव निष्क्रिय छ यस विषयमा प्रदेश प्रमुखले स्पष्ट पार्नुपर्ने बताउँदै प्रदेश प्रमुख पदको उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ ।

विपक्षी दलले पदको मर्यादा हुने गरी काम गर्न प्रदेश प्रमुखलाई सुझाएका छन् । संविधानको धारा १८८ को उपधारा २ ले मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थालाई उल्लंघन गरेको र हिउँदे अधिवेशन पनि अन्त्य गरेपछि अविश्वासको प्रस्ताव ल्याउन बाध्य भएको विपक्षी दलको भनाइ छ । विज्ञप्तिमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र जसपा संसदीय दलका धनमाया लामाले हस्ताक्षर वगरेका छन् ।