बहुमतको सरकार गठनको समय सकियो, ठूलो दलको हैसियतमा पुनः ओली नै प्रधानमन्त्री

Politics

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि संविधानको धारा ७६ (२) बमोजिम राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा सकिएको छ ।

सोमवार ओलीले संसदबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिँदै अन्य दलहरुलाई बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले बिहीवार (आज) राति ९ बजे सम्मका लागि दिएको समय सकिएसँगै बहुमतको सरकार गठनको सम्भावना टरेको हो ।

तर तीन दिनको समयमा पनि प्रमुख प्रतिपक्षी कांग्रेससहित माओवादी केन्द्र र जसपाले सहमती जुटाउन नसक्दा नयाँ सरकार बन्न सकेन ।

सोमवार संसदमा तटस्थ बसेको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले साथ नदिँदा नयाँ गठबन्धनको सरकार बन्न नसकेको हो ।

सरकार गठनको अन्तिम दिन बिहीवार (आज) सरकार गठनका लागि सबै राजनीतिक दलहरुबीच आन्तरिक छलफल चलेको थियो । दलहरुबीच सहमती नजुटेपछि बहुमतको सरकार गठनको बाटो टुंगिएका हो । यससँगै पुनः ओली नै प्रधानमन्त्री हुनेछन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रुपनारायण भट्टराईले दिएको जानकारी अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ ।