दाङ । राप्ती प्रादेशिक अस्पतालका मेसुमाथि कालो मोसो दलिएको प्रकरणमा पक्राउ परेका एक जना पुर्वपक्षका लागि अदालतले थुनामा पठाएको छ भने तीन जना धरौटीमा रिहा भएका छन् ।
गएको भदौ ११ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा.बिनोद सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको अभियोगमा पक्राउ परेका दिलिप डाँगी पुर्वपक्षका लागि थुनामा गएको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए । दाङ देउखुरी जिल्ला अदालतले थुनछेक आदेशमा डागिलाइ पुर्पक्षका लागि थुनामा पठाउने र तिन जनालाइ धरौटिमा छोड्न आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले दिएको जानकारी अनुसार मोसो प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सर्जन परियार, गणेश खड्का र दिवस क्षेत्री भने जनही ५० हजार रुपैँया धरौटी बुझाएर रिहा भएका छन् । मेसु सिंहले परियारसहित उनको समुहले कार्यकक्षमा आफुलाइ कालोमोसो दलेको बताएका थिए ।
बिरामीहरुको कल्चर जाँचका बिषयमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलका संयोजक सर्जन परियारको नेतृत्वमा गएका केही युवाहरुले मेसु सिंहलाई कार्यकक्षमै मोसो दलेर भागेका थिए । केही दिन लुकिछुपी बसेका परियार आफै जिल्ला प्रहरी कार्यालय दाङ पुगेर आत्मसमर्पण गरेका थिए । पक्राउ परेपछि परियारको समूहले प्रहरी हिरासतमै भोक हड्ताल गरेको थियो ।