भारत सरकारको तर्फबाट भारतीय दूतावासद्वारा नेपाल सरकारलाई विपद राहत सामग्री हस्तान्तरण

Politics

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच नेपाल सरकारका माननीय गृहमन्त्री श्री बालकृष्ण खाणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गर्नुभयो । राहत सामग्रीमा ३००० वटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा रहेका छन् ।

हरेक वर्ष भारी वर्षाका कारण हुने डुबानले नेपालका विभिन्न भागमा ठूलो विनाश र क्षति हुने गरेको छ । मानवीय सहायता तथा विपद् राहत उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई कायम राख्दै नेपाल सरकारले राहत सामग्रीका लागि गरेको अनुरोध बमोजिम दूतावासले राहत सामग्री उपलब्ध गराएको हो ।

नेपाली जनता र नेपाल सरकारलाई विपद न्युनीकरण प्रयासमा सहयोग गर्न मानवीय सहायता तथा विपद् राहत उपलब्ध गराउने यो पहल नेपाल र भारतबीचको विकास साझेदारीको आधारको रुपमा रहेको छ । यसले भारत र नेपालका जनताबीचको भावनात्मक सम्बन्धलाई उजागर गरेको छ ।

कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले राहत सामाग्री बेलैमा उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । वहाँले सम्बन्धित निकायले राहत सामाग्रीको उचित प्रयोग एवम् समयमै वितरण गरी त्यसको अधिकतम लाभलाई सुनिश्चित गर्ने कुरामा आफू आशावादी रहेको बताउनुभयो ।

समयमै राहत सामग्री उपलब्ध गराइदिएकोमा गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो र नेपालमा भारत सरकारको सहयोगमा सञ्चालित विकास परियोजनाको सराहना गर्नुभयो ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ । यी राहत सामग्रीको हस्तान्तरणलेआफ्ना जनताको उत्थानका लागि नेपाल सरकारले चालेको प्रयासलाई थप बलियो बनाउन भारत सरकारको निरन्तर सहयोग रहने कुरालाई प्रतिबिम्बित गरेको छ ।