मुटु सम्बन्धि जुनसुकै रोग लागोस्, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र नेपालीहरुको मुख्य रोजाईमा पर्ने गर्दछ । तर पछिल्लो समय अस्पताल प्रशासनको चरम लापरवाहिका कारण मुटुको शल्यक्रिया गर्दा प्रयोग हुने महत्वपूर्ण उपकरण अक्सिजेनेरेटरको अभावमा विरामी समस्यामा परेका छन ।
ओपन हार्ट सर्जरी गर्दा मुटु र फोक्सो दुबै बन्दगर्नुपर्छ, त्यस्तो बेला शरीरमा अक्सिजन दिन अक्सिजेनेटर नामक उपकरणको प्रयोग अनिवार्य छ । मुटु र फोक्सो बन्द भएका बेला अक्सिजेनेटरले शरीरको रगतमा अक्सिजन दिने र कार्बनडाइअक्साइड लिने गर्छ । शल्यक्रियाका बेला मुटु र फोक्सो कृत्रिम रुपमा सञ्चालन गर्न अक्सिजेनेटर प्रयोग हुन्छ । अक्सिजेनेटर विना मुटुको शल्यक्रिया सम्भव छैन ।
कोरोना महामारी,रुस युक्रेन युद्ध जस्ता वाहनामा महत्वपूर्ण उपकरण अक्सिजेनेटरको चरम अभाव सुरु भएको छ । मुटु रोग उपचारको मुख्य गन्तव्य शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले शल्यक्रिया नै बन्द गरेको छ । अस्पतालले मंगलवार मुटुको शल्यक्रियाका दर्जर्नौ विरामी फिर्ता गर्यो । शल्यक्रिया सेवा बन्द हुँदा विरामीहरु मारमा परेका छन ।
मुटुको अपरेसन गर्न आवश्यक पर्ने अक्सिजेनेटरको अभाव वारे संसदमा विषय प्रवेश भएपनि सरोकारवाला निकायको खासै ध्यानाकर्षण भएको छैन । नेकपा एमालेकी सांसद नविना लामाले बुधबार सदनमा यो विषय उठान गरे पनि विषयबस्तुको सारमा भन्दा आवरणमा बहस केन्द्रित हुँदा विषयको गहनता ओझेलमा पर्यो । तथापी स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकार जवाफदेहि र जिम्मेवार नहुनु आफैमा निन्दनीय छ ।