‘समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी’ भन्ने नारासहित शुक्रबारदेखि पोखरामा प्रथम महानगर मेयर सम्मेलन २०७९ सुरू भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा शनिबारसम्म चल्ने सम्मेलनमा देशका ६ मध्ये पाँच महानगरपालिकाका प्रमुख, पाँच उपप्रमुख र प्रमुख प्रशासकीय अघिकृतहरुको सहभागीता रहेको छ ।
सराङकोट स्थित एक होटलमा सुरू भएको सम्मेलनमा पत्रकार प्रवेशमा रोक लगाइएको छ ।पोखरा महानगर स्रोतका अनुसार काठमाण्डाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पत्रकारलाई कार्यक्रम स्थल प्रवेशमा रोक लगाउने सर्त राखेपछि पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको हो । पत्रकारहरुलाई कार्यक्रमस्थलमा प्रवेश दिए आफू सम्मेलनमा सहभागी हुन नसक्ने भन्ने संकेत बालेनले गरेपछि बाध्य भएर पत्रकारहरुलाई रोक लगाउनु परेको स्रोतको भनाई छ । ‘उहाँले नआउने भन्ने संकेत गरेपछि पत्रकारलाई प्रवेशमा रोक लगाएर भएपनि उहाँ सहभागी हुने वातावरण बनाएर कार्यक्रम गर्नुपरेको हो’, स्रोतले भन्यो ।
कार्यक्रम सुरू हुनुअघि आयोजकले पोखराको लेकसाईडस्थित एक होटलमा सम्मेलनमा सहभागी हुन आएका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्ने सामान्य कार्यक्रममा भने पत्रकारहरुलाई प्रवेश दिइएको थियो । लेकसाईडको होटलमा भएको स्वागत कार्यक्रमपछि सहभागीहरु पोखरा सभागृहमा जारी लोकदोहोरी प्रतियोगितामा सहभागी भएर मेयरहरुको टोली सराङकोट पुगेको थियो ।
सम्मेलनमा सहभागी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भोलीको काममा सहजता र सहयोग होस भनेर अनुभव आदान प्रदान गर्ने सम्मेलनको मुख्य उदेश्य रहेको बताइन् । सम्मेलनपछि महानगरपालिकाको छुट्टै संघ गठन गर्ने उनले बताइन् । ‘नगरपालिका संघ छ तर महानगरपालिको छुटै संघ छैन । छलफल पछि महानगर संघ समेत गठन हुन्छ, जस्ले दिगो रुपमा कार्यसम्पादनमा सहयोग समेत गर्नेछ’, उनले भनिन्, ‘अर्को वर्षको सम्मेलन भरतपुरमा गर्ने गरि आफूले प्रस्ताव राख्ने उनको भनाइ थियो । ‘०८० लाई भरतपुर भ्रमण वर्ष घोषणा भइ सकेको छ । त्यसलाई सफल पार्न सम्मेलनले सहयोग पनि गर्नेछ’, उनले भनिन् ।
त्यस्तै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले सम्मेलनमा दोहोरिएका मेयरहरुले अनुभव सुनाउने र नयाँ मेयरहरुको कार्ययोजना र अनुभव सुन्ने बताए । ‘हाम्रो अनुभव सुनाउने, नयाँको कार्ययोजना र अनुभव सुन्नुका साथै सहजीकरणका लागि आउनु भएका विज्ञहरुको कुरा पनि सहभागीले सुन्छौँ’, उनले भने, ‘सवैको कुरा सुनेपछि यसलाई आफ्नो कार्यक्षेत्रमा कसरी लागू गर्ने भन्नेमा छलफल पनि हुन्छ । जस्तै भरतपुरबाट मैले धेरै कुरा सिक्नु छ र भरतपुरले पनि सम्पदा संरक्षणको लागि ललितपुरबाट धेरै कुरा सिक्नु छ, यी र यस्तै कुरामा सम्मेलन केन्द्रित हुनेछ ।’