१० भारतीय सेलिब्रिटीलाई नेपाली जुवाघरमा ल्याएको विषयमा ईडीले थाल्यो अनुसन्धान

Entertainment

नेपालमा जुवा प्रवर्द्धन गर्न भारतको तेलङ्गना र आन्ध्र प्रदेशका नेपाली क्यासिनो डिलरले भारतीय सेलिब्रिटीलाई प्रयोग गरेको आरोप लागेको छ ।

यी दुई तेलुगू राज्यमा रहेका प्रवीण चिकोटी र माधव रेड्डीको घर, फार्म हाउस र उनीहरुका अन्य स्थानमा प्रवर्तन निर्देशनालय (ईडी)ले छापा मार्दा यस्तो प्रमाण भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ईडीले विदेशी विनिमय व्यवस्थान ऐन उल्लंघनको आरोपमा गरेको उक्त छापामा बलिउड र टलिउड सेलिब्रिटीसँग लेनदेनको प्रमाण फेला परेको पञ्जाब एक्सप्रेसले जनाएको छ ।

उनले १० जना भारतीय सेलिब्रिटीलाई नेपालमा ल्याएर प्रमोसनल भिडियो बनाएको आरोप पनि लागेको छ । बिग ड्याडी भनिने भारतीय डिलर नेपालको झापास्थित मेची क्राउन क्यासिनोमा ती सबै कलाकारलाई ल्याएर जुवा प्रवर्द्धन गराएको पनि उक्त समाचारमा उल्लेख छ ।

भारतीय सेलिब्रिटीलाई नेपालसम्म ल्याउन क्यासिनो डिलरले विशेष उडानको व्यवस्था गरेको समेत जनाइएको छ । उनीहरुसँगै भारतबाट ल्याइएका अन्य जुवाडेसँग पनि प्रतिजुवाडे तीन लाख भारु लिइएको उल्लेख छ ।

गत असार ५ गते बलिउड अभिनेत्री अमिषा पटेल, ‘बाहुबली’ फेम्ड स्कारलेट विल्सन र गायिका मेघना नैडुले मेचीनगरस्थित जोशी मलमा रहेको क्यासिनो भेगसमा प्रस्तुति दिएका थिए ।