नेपालस्थित चिनियाँ दूतावासले अंग्रेजी दैनिक ‘काठमान्डु पोस्ट’ मा प्रकाशित एक लेखप्रति कडा आपत्ति प्रकट गरेको छ। कोरोना भाइरससँग लडिरहेको चिनियाँ सरकारविरुद्ध र त्यहाँको राजनीतिक प्रणालीबिरुद्ध प्रहार गरेको भन्दै आपत्ति प्रकट गरेको हो। चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै काठमान्डु पोस्टका प्रधान सम्पादक अनुप काफ्लेको नामसमेत उल्लेख गर्दै चीनबिरुद्ध उक्त दैनिक नियतवश नै लागिरहेको आरोप लगाएको छ।
चीनले कोरोना भाइरसबिरुद्ध सशक्त ढंगले लडाइँ जारी राखेको र नेपाली सरकार तथा नेपाली मिडियाले यो अप्ठ्यारोमा चीनको पूर्ण साथ र सहयोग गरेको पनि चिनियाँ दूतावासको विज्ञप्तिमा उल्लेख छ।
कोरोना भाइरससँग जुध्न दिइएका सुझावहरु स्वीकार गर्ने तर चिनियाँ राजनीतिक पद्धतिबिरुद्धका आक्रमण चीनलाई सह्य नहुने पनि विज्ञप्तिमा उल्लेख छ।