फुल पनि चोर्ने भक्तजन

Interesting

आराध्यदेव भगवान श्री पशुपतिनाथमा महाशिवरात्रिको अवसरमा सजाइएको फुल पनि चोरी भएको छ । बेहुलीझँै सिंगारेको पशुपतिनाथ शिवरात्रीको भोलिपल्टै उजाड बनेको छ ।

फूलहरू कोरिया, अस्ट्रेलिया, थाइल्यान्ड र भारतको विभिन्न ठाँउबाट ल्याइएका थिए । पशुपति क्षेत्र विकास कोषले दुई करोड लगानी गरेर ल्याएको फूलहरूबाट दुई दिनसम्म लगाएर बनाएका सुन्दर आकृतिहरू केही घण्टामै पशुपतिमा आएका सर्वसाधारणले चोरेर लगेका हुन् ।

शिवरात्रीको बेलुकासम्म फूलको श्रृंगारले बेहुलीझँै झकिझकाउ देखिएको पशुपति शनिबार बिहान पुग्दा उजाड देखिएको थियो । शिवरात्रीका दिन त्यही फूलको सजावट अगाडि उभिएर फोटो खिच्न भक्तजनहरू व्यस्थ देखिएका थिए । शिवको दर्शनका साथसाथै फोटो खिच्न पाउँदा सबै दंग थिए । शुक्रबार भिडभाडमा जान नसकेकाहरू शनिबार बिहान त्यहाँ पुगेका थिए ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथलाई फूलैफूलले सजाउन झण्डै दुई करोड रुपैयाँ खर्च गरेको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो । ती फूलहरूबाट पुशपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार नै फूलैफूलले बनाइएको थियो, जसमा आकर्षक ढंगले ‘ओम नमः शिवाय’ लेखिएको थियो । शिवलिंगदेखि शिवको बाहन साँढेसमेत फूलबाटै बनाइएको थियो । ठाउँठाउँमा गमलाहरूमा पनि फूल राखिएको थियो । तर, पशुपतिमै आएका भक्तजनका खोल ओढेका केहि चेतना हराएका मानिसहरुले  भुइँमा राखिएका गमलादेखि झुण्डाएर राखिएका फूलसमेत चोरी गरेका छन् ।

 

यी फूलको आयु कम्तीमा पनि हप्ता दिनसम्म हुने थियो । अर्किड, जरबरा, कन्वारी, सयपत्री, गुलाब, गोदाबरी, लिली, क्यामेसन, एसिया टिक, देल्ही, जेप्सी र अलिको नियालगायत विभिन्न जात र रङका फूल ल्याइएको थियो । फूल सजाउन डेढ सय भारतीय कामदार नेपाल आएका थिए । तर, त्यत्रो लगानी र महेनत एक दिनपनि टिकेन ।

सबैलाई थाहा भएको कुरा पशुपतिमा थुप्रै बाँदरहरु छन् , यी बाँदरहरुले बेला बेलामा दर्शनार्थ आएका मानिसहरलाइ दुख दिने गरेका छन् , तर तिनै बाँदरहरुले भगवान श्री पशुपतिनाथ मन्दिर परिसरमा सजावट हेतु राखिएका फुललाइ केहि गरेनन , बरु केहि मानिसहरुले भने बाँदर भन्दा पनि निच हर्कत देखाएका छन् । केहि राम्रो काम हुदा त्यसलाई जोगाउन स्वयं आम नागरिक तहबाट नै चासो नहुनु बरु उल्टै त्यसमा नोक्सान पुर्याउने गरेको देखिएको छ । केहि समय अघि काठमाडौँको तिनकुनेस्थित पार्कमा सजाइएको फूलको गमाला दुबो समेत चोरी भएको थियो ।

यस वर्षको महाशिवरात्रिमा १२ लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।