गुगललाई बालबालिकामाथि जासुसी गरेको आरोप !

Interesting News

अमेरिकाको न्यू मेक्सिको राज्यका अर्टनी जनरलले गुगलले गैरकानुनी तरिकाले स्कुलका बच्चाको जानकारी जुटाईरहेको आरोप लगाउदै गुगलविरुद्ध मुद्धा दायर गरेका छन् ।

आरोपमा गुगलले बालबालिकाले कस्तो साइट हेर्छन, उनीहरुको मन पर्ने भिडियो के हो ? भन्ने जस्ता जानकारी हासिल गरिरहेको आरोप लगाइएको छ । साथै गुगलले बालबालिकाका सम्पर्क नम्बर र पासवर्डको बारेमा समेत जानकारी लिएको आरोप लगाइएको छ ।

गुगलले न्यूमेक्सिकोमा ६० प्रतिशतभन्दा बढी बालबालिकाको पढाइका लागि क्रोमबुक, जी-सुट सुबिधा नि: शुल्क दिने गर्दछ । यस अन्तर्गत जीमेल, क्यालेन्डर, ड्राइभ, डक्स जस्ता सुबिधा समेत प्राप्त हुने गरेको छ ।

मुद्धामा भनिएको छ की १३ बर्ष भन्दा कम उमेरका बालबालिकाले प्रयोग गर्ने इन्टरनेटका लागि माता पिताको आवश्यक स्वीकृतिको नियमलाई गुगलले उलंघन गरेको छ । साथै बच्चाको अनलाइन गोपनियता संरक्षण नियमको समेत उलंघन गरेर व्यावसायिक उद्धेश्यका लागि डाटा जुटाईरहेको छ ।

यसैबीच गुगलका प्रवक्ता जोस कास्टनेडले आरोपलाई गलत भन्दै आफ्ना स्कुल अन्तर्गतका सबै कार्यक्रमलाई नियन्त्रण गर्ने अधिकार सम्बन्धित संस्थानहरुलाई दिने गरेको बताए । साथै उनले गुगलले प्राथमिक र माध्यमिक तहका बालबालिकाका जानकारी विज्ञापनका लागि नजुटाउने स्पष्ट गरेका छन् ।