ट्राफिक प्रहरीको सहयोगी सारङ्गी

Health-Education

ट्राफिक प्रहरीले सारङ्गीको धुनमार्फत सात हजार ७०० व्यक्तिलाई ट्राफिक सचेतना प्रदान गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सचेतना प्रदान गरेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सडक अनुशासन र ट्राफिक नियमसम्बन्धी ज्ञान प्रदान गरिएको जानकारी दिए।

महाशाखाले उपत्यकाको नयाँ बानेश्वर, बागबजार, रत्नपार्क, वीर अस्पताल, नयाँ सडक, कालीमाटी, त्रिपुरेश्वर, नयाँ बसपार्क, कलङ्की, स्वयम्भू, कोटेश्वर, विमानस्थल र जावलाखेल क्षेत्रमा सारङ्गीको धुनमार्फत ट्राफिक जनचेतना फैलाएको छ।

सारङ्गीको धुनमार्फत हेमराज गन्धर्व, बालाराम गन्धर्व, दिलबहादुर गन्धर्वलगायतले ट्राफिक जनचेतना फैलाउनुभएको थियो। महाशाखाले दैनिक चार चोकमा सारङ्गीमार्फत सचेतना फैलाउँदै आइरहेको छ।