विद्यार्थीलाई चरम यातना दिँदै अमानवीय व्यवहार गर्ने एक शिक्षिका कारवाहीमा परेकी छिन् । जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यललाई विद्यालयले निष्कासन गरेको छ भने प्रहरीले उनलाई पक्राउ गरेको छ । विद्यार्थीलाई यातना दिएर हात काट्न लगाउने शिक्षिका कर्माचार्यलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले आज पक्राउ गरेको छ । पक्राउ परेकी शिक्षिकाले कक्षा ६ र ७ का ३४ जना विद्यार्थीको पाखुरामा धारिलो ब्लेडले चिराचिरा पर्ने गरी काट्न लगाएर विद्यार्थीलाई यातना दिएको थिइन् ।जागृति एकेडेमीमा विगत १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका कर्माचार्यले अघिल्लो साता लिएको नियमित कक्षागत परीक्षामा राम्रो अङ्क ल्याउन नसकेको भन्दै यहीँ फागुन २२ गते बिहीबार विद्यार्थीलाई वेञ्चबाट उठाएर शारीरिक र मानसिक यातना दिएकी थिइन् । शिक्षिका कर्माचार्यले कक्षा ६ का आकृति रेग्मी, रेसिका लामा, आर्य तामाङ, सविन तामाङ, रेश्मा गिरी, अर्पन घिमिरे, कृस्टिन श्रेष्ठ, नीतेशकुमार मण्डल, रोहन बुढाथोकी, सुनीता कार्की, वर्षा बुढाथोकी, सार्थक श्रेष्ठ, आदर्श चौधरी, विपसा गौतम, अस्मी थापामागर, प्रज्ज्वल थापा, रितेश ढुङ्गेल, रेश्मा थापामगर र काजोल यादव, विवेश चौधरी, अजय विके, भीष्म बढू, अमृत गौतम, रोहन गुरुङ र राजु श्रेष्ठ र कक्षा ७ का सामना दाहाल, दृष्टि, प्रदीप्ति, सन्देश, असिम, भुवन, सन्दीप, सुप्रिया र वर्षाको हात काट्न लगाएको स्कुलले जानकारी दिएको छ ।
द्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठले भने, “केही दिनअघिको क्लास टेष्टमा कम नम्बर ल्याएको भन्दै याताना दिएको पाइयो, कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको नाडी चिरिएको रहेछ, सोसल साइन्स पढाउने शिक्षिकाबाट यस्तो काम भएको हो, यो क्षमा दिन नसकिने गल्ती भएकाले शिक्षिका कर्माचार्यलाई विद्यालयले कारवाही गर्दै निष्काशन गरेको छ ।” बिहीबारको घटना भए पनि आफूले शुक्रबार मात्रै थाहा पाएको बताउँदै उनले शिक्षिकाबाट अमानविय व्यवहार भएको बताए ।