लकडाउनका कारण विद्युत् खपत घट्यो

News

काठमाण्डौ । सरकारले देशभर लकडाउन घोषणा गरेसँगै विद्युतको माग पनि घटेको विद्युत् प्राधिकरणले जनाएको छ।

कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन गरिएका कारण बढी विद्युत् खपत गर्ने कलकारखाना, होटेल, व्यापारिक भवन तथा कार्यालयहरू बन्द भएकाले विद्युतको माग घटेको हो।

लकडाउन सुरु हुनुअघि मुलुकभरको विद्युतको अधिकतम माग (पिक डिमान्ड) एक हजार दुई सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार त्यो घटेर नौ सय ४५ मेगावाटमा सीमित भएको थियो। यो पिक डिमान्ड साँझ ७ बजेको रेकर्ड हो।

मंगलबार राति विद्युतको माग चार सय ८३ मेगावाटसम्म झरेको थियो भने बुधबार बिहान अझै घटेर चार सय ४६ मेगावाटमा सीमित भएको थियो। बुधबार मध्याह्न १२ बजेको डिमान्ड ६ सय २८ मेगावाट रहेको विद्युत् प्राधिकरणले जनाएको छ। विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकामा पनि विद्युतको माग निकै घटेको छ।

लकडाउनअघि विद्युतको अधिकतम माग साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार दुई सय ९० मेगावाटमा सीमित भएको थियो। काठमाडौं उपत्यकामा मंगलबार बिहान विद्युतको माग एक सय ३ मेगावाट र राति एक सय १७ मेगावाट रेकर्ड गरिएको छ।

बुधबार बिहान काठमाडौं उपत्यकाको विद्युतको माग एक सय ४ मेगावाट मध्याह्न १२ बजे एक सय ८२ मेगावाट पुगेको छ। अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग स्वात्तै घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

विद्युतको माग घटेसँगै भारतबाट आयात हुने विद्युतको परिमाण पनि घटेको छ भने कुलेखानी चलाइएको छैन। कार्यकारी निर्देशक घिसिङका अनुसार अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट मात्रै पिक समयमा करिब एक सय ५० मेगावाटसम्म विद्युत् ल्याइएको छ।

उनले बिहीबार बेलुकीबाट ५० मेगावाट मात्रै ल्याइने र राति विद्युतको लोड घटेको समयमा प्राधिकरणका विद्युतगृह बन्द गर्नुपर्ने अवस्था रहेको जानकारी दिए।