काठमाडौँ, १५ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र आमजनताले कोरोना विरुद्धको लडाईंमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गर्नुभएको छ ।
अध्यक्ष दाहालले आज एक भिडियो सन्देश दिँदै विश्वलाई नै चुनौती दिएको यस महामारीबाट हामी छिट्टै मुक्त हुने र मानव जाति तथा राष्ट्रको एकता र उच्च मनोबलले हामी विजयी हुने दृढ विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
सरकारले कोरोना नियन्त्रणमा अपनाएको सार्थक प्रयासको विशेष धन्यवाद दिँदै उहाँले विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा चित्रण गरेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा नेकपाका सबै तहका नेता तथा कार्यकर्तालाई स्वयंसेवीका रुपमा यस सङ्कटको घडीमा परिचालित हुन र कोरोनाविरुद्धको लडार्इंमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्नुभयो ।
विश्व महामारीको कारण निधन भएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । नेपालमा सङ्क्रमण भएका नागरिकरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष दाहालले विश्वव्यापी महामारी बनेको कोरोना जस्तो घातक भाइरसविरुद्ध सचेततापूर्वक सावधानी अपनाउनसमेत आग्रह गर्नुभएको छ ।
अध्यक्ष दाहालले सचेत नागरिक र आमसञ्चारमाध्यमको जिम्मेवारपूर्ण र सचेततापूर्वकको पहल एवं शिक्षाले नै जोखिममा पर्नबाट जोगिन सकिन्छ भन्ने तथ्यलाई गहिरो तरिकाले आत्मसात् गर्नसमेत विशेष आग्रह गर्नुभयो ।