माइल्याब डिस्कवरी रिसर्च एण्ड डेभलपमेन्टकी प्रमुख संक्रामक रोग विशेषज्ञ मीनल दखावे भोसल कोरोना भाइरसको टेस्टिङ किट अर्थात् पाथो डिटेक्ट तयार गर्ने टोलीको प्रमुख हुन् । यो टोलीले निकै कम समयमा उक्त किट निर्माण गरेको हो । यस्तो किट बनाउन तीनदेखि चार महिनाको समय लाग्छ । तर, उनीहरुले छ सातामा नै किट तयार पारेका हुन् । आफूहरुले बनाएको किटले साढे दुई घण्टामा यो भाइरसको परीक्षण गर्न सक्ने बताइन् । जबकी विदेशबाट आउने किटले परीक्षणको लागि ६÷७ घण्टा लगाउँछ । प्रत्येक किटबाट एक सय नमुना परीक्षण गर्न सकिन्छ । यो किटको मूल्य एक हजार दुई सय भारु छ । विदेशबाट भारतमा यस्तो किट मगाउँदा चार हजार पाँच सय भारु पर्छ । रमाइलो पक्ष के भने यो क्रममा मीनल आफैं एक डेडलाइनको सामना गरिरहेकी थिइन् र, गत साता मात्र उनले एक बच्चालाई जन्म दिइन् । गर्भावस्थाको क्रममा गत फेब्रुअरीमा उनले टेस्टिङ किट निर्माणको प्रोजेक्टमा काम गर्न सुुरु गरेकी थिइन् । मीनलका अनुसार १० वैज्ञानिकको टोलीले यो प्रोजेक्ट सफल बनाउन निकै ठूलो मेहनत गरेका थिए । छोरीलाई जन्म दिनुभन्दा एकदिन पहिला १८ मार्चमा उनले किट परीक्षणको लागि नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईबी)लाई सुम्पिइन् । त्यसैदिन साँझ अस्पताल जानुभन्दा पहिला उनले यो किटको प्रस्तावलाई भारतको फुड एण्ड ड्रग्स कन्ट्रोल अथोरिटी (सीडीएससीओ)मा व्यावसायिक अनुमतिका लागि पठाएकी थिइन् । यो किट परीक्षणका लागि पठाउनुभन्दा पहिला टोलीले फरक-फरक मापदण्डमा आधारित रहेर धेरैपटक यसको परीक्षण गरेको थियो । तर, त्यसको नतिजा सही नै आयो । मीनल भन्छिन्, ‘कुनै नमुनालाई १० पटक परीक्षण गर्नुछ भने सबै परीक्षणको नतिजा एउटै आउनुपर्छ । हामीले यो मापदण्ड हाँसिल गर्यौं । हाम्रो किट सबै हिसाबले सही छ ।’
भारतको इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर)ले मायल्याब किटलाई सही साबित गर्यो । एनआईबीले आईसीएमआरको अधिनमा रहेर काम गर्छ । आईसीएमआरले टेस्टिङ किटको नतिजा शतप्रतिशत सही आउने माइल्याब भारतको पहिलो कम्पनी भएको बताएको छ ।
गत बिहीबार भारतमा निर्माण गरिएको पहिलो कोरोना भाइरस टेस्टिङ किट बजारमा पुगेको छ । पछिल्लो समय भाइरस संक्रमितको आशंका बढिरहेको अवस्थामा यसको प्रयोगले कोरोना भाइरस (कोभिड–१९) का बिरामीको पुष्टि छिटै हुने अपेक्षा गरिएको छ ।
पुणेको माइल्याब डिस्कवरी भारतको पहिलो फर्म हो, जसलाई टेस्टिङ किट तयार पार्ने र बिक्री गर्ने अनुमति मिलेको छ । यो फर्माले गत साता पुणे, मुम्बई, दिल्ली, गोवा र बैंग्लोरमा आफ्नो एक सय ५० ओटा पहिलो चरणको टेस्ट किट पठाएको छ ।