लकडाउनका बेला बलात्कार

News

गत चैत्र १३ गते कटहरिया नगरपालिका वडा ७ बगहीगाँउस्थित एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोप लागेका २८ वर्षीय भाग्यनारायण साह फरार भएका छन् ।

घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी निज शाहले छिमेकीको छोरीलाई केही काम छ भनी आफ्नो घरमा बोलाई बलात्कार गरेको आरोप लागेको छ ।

साहले किशोरीमाथि दिउँसै ढोका थुनेर बलात्कार गरेको र भिडियो समेत बनाएको खुलेको छ । साहले बलात्कारको घटनाबारे कसैलाई भनेमा भिडियो सामाजिक सञ्जालमा राखिदिने धम्की दिँदै आएको किशोरीले बताएकी छिन् ।

पीडितले घटनाबारे बाबुआमालाई बताएपछि घटना बाहिर आएको थियो । इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले साहमाथि जबरजस्ती करणी मुद्दा दर्ता भएको र भिडियोबारे थप अनुसन्धान भइरहेको बताए ।

पीडितको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको र आरोपी साहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।