वुहान : चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको वुहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै वुहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । स्थानीय सरकारले हुबे प्रान्तको राजधानी वुहान सहित प्रान्तका सबै सानाठूला शहर बजारमा लगाइएका सबैजसो प्रतिबन्धहरु खुला गरेको छ । सडकमा हिँड्ने र पसलमा आइपुग्ने ग्राहकलाई मास्क लगाएका पसलेहरुले स्वागत गरिरहेका देखिन्छन् । उनीहरुले प्रत्येक ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिरहेको दृश्य सबैतिर देख्न सकिन्छ ।
विश्वभरका सरकारहरुले ट्राभल र अरु नियन्त्रणका उपायहरु अबलम्बन गरिरहेकै बखत चीन सरकारले वुहान र अरु क्षेत्रमा लगाइएका प्रतिबन्धहरु हटाएको छ । कोरोना भाइरसलाई परास्त गरेको घोषणासँगै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीन आफ्नो अर्थतन्त्रलाई जीवन्त तुल्याउने प्रयत्नमा जुटेको छ ।
हुबे प्रान्तको वुहान शहरमा यात्रामाथिको प्रतिबन्ध हटाइएको चीनकै अन्तिम शहर पनि हो । स्थानीयबासीलाई हुबेका अरु ठाउँमा यात्रा गर्न दिइएको भए पनि प्रान्त छाड्न दिइएको थिएन । हुबेका वुहान बाहेकका अन्य ठाउँका बासिन्दामाथिको प्रतिबन्ध गत मार्च २३ मै हटाइएको थियो । उहानका बासिन्दामाथिका यात्रा प्रतिबन्धहरु आगामी अप्रिल ८ बाट हटाइनेछ ।