भैरहवा — नेपाल प्रवेश गर्ने अनुमति नपाएपछि सुनौली सीमा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका सयौं नेपाली अन्ततः मंगलबार साँझ भारत नै फ़र्काईए । भारतीय सुरक्षाकर्मीको ठूलो समूहले दशगजा सिमानामा आएर चार–पाँच वटा बसबाट साँझ ६ बजेतिर भारततर्फ नै फर्काएको थियो। दशगजा सिमानामा सोमबार रातिदेखि धर्नामा बसेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपाल र भारत सरकारबीच अर्को निर्णय नहुञ्जेल व्यवस्थित रुपमा क्वारेन्टाइनमा राखिने प्रतिबद्धता जनाउँदै भारततर्फ फर्काएका थिए। दुवैतर्फ सुरक्षाकर्मीले दशगजाबाट उठेर भारततर्फ जान बाध्य बनाएपछि कैयौँ नेपाली रोएका थिए। केही भने आक्रोशित हुँदै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै थिए। कतिले आफूलाई नेपाली नागरिक भन्नसमेत लाज लाग्ने वातावरण नेपाल सरकारको तर्फबाट भएक भन्दै आक्रोश व्यक्त गर्दै थिए। केहीले विपत्मा परेका आफ््नै नागरिकलाई नेपाल सरकारले उद्धार गर्नुको सट्टा भारततफर् नै धकेलेर आफ्नो दायित्वबाट पन्छिएको आरोप लगाएका थिए। दशगजाबाट उठाएर जबर्जस्ती भारततर्फ बसमा राख्ने बेला उनीहरुले नेपाल सरकारविरुद्ध नाराबाजी गरेका थिए।
पहिला दशगजा सिमानासम्म आउन नदिएर छेकबार लगाएका भारतीय पुलिसले राति भने छेकबार खोलेर दशगजामा जम्मा पारेपछि तत्कालै छेकबार लगाएर भारततर्फ फर्किन रोक लगाएका थिए। मंगलबार एकाएक उनीहरुले फेरि विभिन्न सुविधा प्रदान गरिने प्रतिबद्धता जनाउदै भारततर्फ नै फर्काए।
उत्तरप्रदेश सरकारले लकडाउन गरिएपछि जो जहाँ छ त्यहीँ नै व्यवस्थित रुपमा राख्ने निर्णय गरेपछि भारतीय पक्षले दशगजामा रहेका नेपालीलाई फर्काएका हुन् ।
झण्डै चार सयको संख्यामा रहेका नेपालीलाई ९ किमी पर नौतनवास्थित नौतनवा इन्टर कलेजमा व्यवस्थित रुपमा राखिने भारतीय सुरक्षा अधिकारीले जनाए।
दशगजा सिमानाबाट नेपालीलाई भारततर्फ फर्काएसँगै भारत प्रवेश नपाएर दशगजामा रोकिएका करीब डेढ सय भारतीय नागरिकलाई पनि रुपन्देही प्रशासनले नेपाल फर्काएर सिमानादेखि करीब २ किलोमिटर वर रहेको डन्डा नदी नजिकको निमा प्रतिमान अध्ययन प्रतिष्ठानमा राखेको छ।