रातो मच्छिन्द्रनाथको रथ निर्माण प्रकिया र किम्बदन्ती

Interesting

पुरानो संस्कृति र सभ्यता लाई जिवन्त राख्दै रातो मच्छिन्द्रनाथको जात्रा हरेक वर्ष मनाइन्छ । रातो मच्छिन्द्रनाथको रथ रथ निर्माण प्रक्रिया पनि एकदमै रोचक छ । प्रत्येक वर्ष पुल्चोक स्थित जोगाम्बर पीठ र १२ वर्षमा एकपटक बुंगमतीको रथ चउरमा रहेको जाेगाम्बर पीठमा बनाइन्छ।  मच्छिन्द्रनाथको रथ निर्माणको अघिल्लो रात महास्नान गरिन्छ। त्यसपछि रथ बनाउने पीठमा ‘हाम्बः की’ जोड्ने काम हुन्छ। रथ कहीँ ढल्यो वा बिग्रियो भने हाम्ब: की जोडेर बनाउने गरिन्छ। रथ बनाउने मानिसलाई ‘बाराही’ भनिन्छ। बेतको काम गर्नेलाई ‘ञँवा’ भनिन्छ। ‘घकु’ ले रथलाई निश्चित दिशा देखाउने र रथ तान्ने काम गर्छन्।

‘पांग्रा र खट बाँध्ने कार्यलाई ‘गथांम्बः बाँध्ने’ भनिन्छ। यो कार्य रथ निर्माण सुरु भएको तीन दिनभित्र गरिसक्नुपर्ने हुन्छ । त्यसपछि फेरि तीन दिनभित्र चार तला राखेर बाँध्ने गरिन्छ। परेवाका दिन रथको खटमा कःसिम्बः (कौसीको पर्खाल), ढोका र अन्य सजावट सामग्री राखेर पूजाआजा गरेपछि मूर्ति राखिन्छ र जात्रा सुरु हुन्छ।

मच्छिन्द्रनाथको रथमा रहेका पांग्रालाई भैरव भनिन्छ। ती पांग्रा चार भैरवका प्रतीक हुन्– हरिसिद्धि, लुभु, टिकाभैरव र इखल्खुको कुन्दीभैरव।

रथ निर्माणका लागि नागब्वसिँ जातको रूख (सौर) चाहिन्छ। त्यो रूख खोज्ने र गुठी अड्डालाई खबर गर्ने काम ब्वसिँ भन्नेहरूले गर्नुपर्ने चलन छ। त्यसैगरी, रथका अन्य विभिन्न भाग बनाउन विभिन्न प्रकारका रूख आवश्यक हुन्छन्। रथको खटलाई चाहिने तूसिँ (लाकुरे जातको काठ), रथकाठ भनेर रथको चारैतिर हालिने १६ वटा स्वसिँ (फलास जातको काठ) र रथ लडे वा बिग्रेर बनाउनुपर्ने भए नपुग काठ विभिन्न जंगलबाट ल्याइन्छ । रथ निर्माण गर्दा बढी प्रयोगमा आउने  फलास जातको काठ हो।वर्षको एकपटक मात्रै रथको पांग्रा फेरिन्छ।  पाटनको यम्पी महाविहार पछाडि बैलाछेँमा राखेर रथको पांग्रा बनाइन्छ। पांग्रा बनाइसकेपछि बाराहीहरूले जीवदान दिने भनेर सिद्धिपूजा गर्छन्। त्यो बेला विश्वकर्मा र चार पांग्रासमेत गरेर पाँच भेडा बलि दिनुपर्ने चलन छ। मच्छिन्द्रनाथको रथ बुंगमतीदेखि १२ वर्षमा तानेर ल्याउन सम्पूर्ण सामान नयाँ प्रयोग गर्नुपर्ने परम्परा रहिआएको छ । रथको अगाडि लामा-लामा दुई काठ हुन्छन्। त्यसमा डोरी राखेर रथ तानिन्छ, जसलाई घःमाः पासा भनिन्छ । नेपाल भाषामा पासा भनको साथी हो। त्यसैको अगाडि निलवर्ण भैरवको प्रतिमा राखिन्छ। घःमाः भनेको कर्कोट नागराज हो, जुन मंगलबजार भीमसेनस्थानको ढुंगेधारा र उकुबहालको ढुंगेधारामा रहने रहेको विश्वास गरिन्छ । रथमा प्रयोग भएका रूखहरू आवश्यकताअनुसार वर्षैपिच्छे फेरिन्छ। त्यसको टुप्पोमा रहेको कमल फूल आकारको प्रतिमा भने फेर्न नमिल्ने परम्परा छ । यसलाई ढकी ब्यामो भनिन्छ,  यो भनेको हजारवटा पात भएको कमलको फूलसरह हो। भगवान अमिताभ बुद्धका बुबा आएको र हजारवटा कमलमा बसेको स्वरुप मानिएको हुनाले यसलाई फेर्न मिल्दैन । रातो मच्छिन्द्रनाथ १०८ लोकेश्वरमध्ये एक हुन्। १०८ मध्ये चार जनाको मात्रै रथ यात्रा हुन्छ– बनेपाको शिष्टिकान्त, चोभारको आन्दादी, बुंगमतिको पदमपानी (रातो मच्छिन्द्रनाथ/बंगद्य) र काठमाडौंको अमोदपानी (सेतो मच्छिन्द्रनाथ)। यहाँको मच्छिन्द्रनाथ रातो हुनुमा विभिन्न भावार्थ जोडिन्छन्। यसलाई सूर्य र रगतको रंगसँग पनि व्याख्या गरिन्छ। यस्तै अहंकार र अविद्या नास गर्ने र करुणाका खानी भएकाले पनि उनको मुहारको रंग रातो भएको मानिन्छ। यसलाई प्रत्येक वर्ष चित्रकार समूहले रंगरोगन गर्छन्। मच्छिन्द्रनाथको जात्राले सामूहिकताको अर्थ पनि जनाउँछ।

यो रथयात्रा गाबहाल, सुन्धारा, लगनखेल, थथीटोल हुँदै जावालखेलमा भोटो देखाएपछि सकिन्छ। त्यसपछि रथलाई बुंगमति लगिन्छ। त्यहाँ लगेपछि मुख हेर्न जाने कार्य चार दिनपछि हुन्छ।

मच्छिन्द्रनाथको रथयात्रा नटुगिंएसम्म केही नबिग्रिएमा सुलक्षण मानिन्छ। यसलाई सिधा बनाउन दायाँ–बायाँ मोटो डोरीले तानिन्छ। दायाँतर्फको देवगण र बायाँतर्फको राक्षसगणले तान्ने भनिन्छ।

पहिले पहिले रथमा लः स्वा: अर्थात पानी फूल चढाउने चलन थियो। अहिले त्यसको सट्टा तामा पाताको फूल चढाइन्छ, राजा सिद्धिनरसिंह मल्लको पालादेखि हःखासम्म ल्याउने दिन चाँदीको पताहा चढाउने गरिन्थ्यो। त्यो चलन भने अहिले लोप भइसक्यो। मच्छिन्द्रनाथलाई सत्ययुगमा खगेन्द्र, त्रेतायुगमा कुर्माचार्य, द्वापरयुगमा मेष र कलियुगमा मच्छिन्द्र भनिएको हो ।मच्छिन्द्रनाथको रथ परम्परागत सामग्री र चुकुलकै भरमा निर्माण भएको हुन्छ।

रातो मच्छिन्द्रनाथको जात्राको किम्बदन्ती 

किम्बदन्ती अनुसार गुरु गोरखनाथले आफूलाई कसैले भिक्षा नदिएको झोँकमा सम्पूर्ण नागलाई वशमा लिन्छन्। नागलाई वशमा लिएपछि देशमा वर्षा हुन्न। अनिकाल सुरु हुन्छ।त्यसपछि स्वयम्भुको शान्तिपुरमा ध्यान बसेका शान्तिकराचार्यले मच्छिन्द्रनाथलाई यहाँ ल्याउँछन्। भारतको आसामदेखि ल्याइएका मच्छिन्द्रनाथ गोरखनाथका गुरू हुन्। उनकै दर्शन गर्न गोरखनाथ उठ्छन्। यही मौकामा नागहरू गोरखनाथको वशबाट मुक्त हुन्छन्, अनि वर्षा हुन्छ। अनिकाल हराउँछ।मच्छिन्द्रनाथलाई राजा नरेन्द्रदेवका पालामा यहाँ ल्याइएको हो। मच्छिन्द्रनाथलाई यहाँ ल्याउँदा ललितपुरमै वर्षभरि ३२ देवदेवीको जात्रा हुने रहेछ। मच्छिन्द्रनाथले जुक्ति लगाएर भनेछन्, ‘युगअनुसार चल्नुपर्छ। वर्षमा यति धेरै भगवानको जात्रा गरेर हुन्न। म एक हात बराबर एक भगवानलाई अदृश्य रूपमा रथमा लिएर हिँड्छु।’सबै देवदेवता उनको प्रस्तावमा सहमत हुन्छन्। अध्यक्ष रहेका मीननाथ भने झोंक्किन्छन्। भन्छन्, ‘तिम्रो अधिनायकवाद मलाई मन परेन।’ रिसको झोंकमा मच्छिन्द्रनाथलाई बज्रले प्रहार गर्न खोज्दा त्यो तंगालमा रहेको पञ्चबुद्धको चैत्यमा लाग्छ। पछि आफूले गल्ती गरेको महशुस गरेर मीननाथले माफी माग्छन्। मच्छिन्द्रनाथले पनि आफूसँगै मीननाथको रथयात्राको कुरा राखेपछि दुवैबीच सहमति हुन्छ। हामीले देख्ने ३२ हात (४८ फिट) अग्ला मच्छिन्द्रनाथमा त्यसैले ३२ भगवान रहेको विश्वास गरिन्छ, उनीसँगै मीननाथको रथयात्रा पनि हुन्छ।