‘बन्नीकी चैतली’: चार वडाध्यक्षसहित नौ जना पक्राउ

News

बझाङ : लकडाउनको अवज्ञा गर्दै बझाङको छविसपाथिभेरा गाँउपालिकामा ‘बन्नीकी चैतली’ मेला सञ्चालन गरेको आरोपमा प्रहरीले चार जना वडाध्यक्ष, बान्नी मष्टा मन्दिरका पुजारीसहित नौ जनालाई पक्राउ गरेको छ। लकडाउनको अवधिमा सयौँको संख्यामा मानिस भेला भएर गरिएको उक्त मेलाको विरोध भएसँगै प्रहरीले उनीहरुलाई पक्राउ गरी सदरमुकाम ल्याएको हो।

पक्राउ पर्ने वडाध्यक्षहरुमा छविसपाथीभेरा २ का विकास अयडी, ३ का केशवराज जोशी, ४ का अमर थापा र ५ का लोकेन्द्र ठगुन्ना रहेका छन्।

अन्य पक्राउ पर्नेमा बान्नीकी चैतली मेलाका व्यवस्थापक एवम् बान्नी मष्टा मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंह र बान्नी मष्टाका पुजारी नृपराज जोशीसँगै जयकृष्ण जोशी, बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंह छन्।

गाउँपालिका अध्यक्ष अक्कलबहादुर धामी र उपाध्यक्ष राधिका रतालालाई समेत प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो। तर, उनीहरु सम्पर्कविहीन भएको बताइएको छ।