सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन

Politics

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय सांसद प्रदीप यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएपछि गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।

क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

गृह मन्त्रालयले बिहीवार जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन आदेश दिएको हो ।

सांसद यादवले क्वारेन्टाइनमा रहेका नेपालीहरुसँग कुराकानी गर्दै उनीहरुलाई मास्क, चिउरा तथा फलफूल समेत वितरण गरेका थिए ।

बुधबार सांसद यादव नेपालसँग सीमा जोडिएको भारतीय शहर रक्सौलको हजारी मल उच्च माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा पुगेका थिए ।

उक्त ठाउँमा २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्येका १५ जना नेपाली रहेका छन् ।