घट्दै नेपाली रुपैयाको मूल्य

Economy

काठमाडौं, २८ चैत । कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश विदेशी मुद्राको तुलनामा तीव्र दरमा सस्तिएको छ। पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको छ। बिहीबार अमेरिकी डलरको भाउ नेपाल राष्ट्र बैंकले नै १२२ रुपैयाँ ५० पैसा तोकेको छ। यो हालसम्मकै सबैभन्दा महँगो दर हो।यद्यपि, प्रतिशतको हिसाबले नेपालमा सटही सुविधा भएका मुद्रामध्ये डलरभन्दा पनि हङकङ, जापान र यूएईको मुद्रा ज्यादा महँगिएको छ। गत ३१ जनवरीको मूल्यलाई आधार मान्दा बिहीबारसम्म हङकङ डलर ७.०५ प्रतिशत महँगिएको छ।

जापानी येन पनि ६.८४ प्रतिशत महँगिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यूएई दिह्राम भने डलरकै हाराहारी अर्थात् ६.८२ प्रतिशत महँगिएको छ। बहराइन दिनार, कतारी रियाल, स्विस फ्र्यांक र साउदी अरेबियन रियाल पनि ६ प्रतिशतभन्दा धेरै महँगिएका छन्।

डेनमार्क, युरोजोन, चीन, कुवेत, दक्षिण कोरियाका मुद्रा पनि उच्च दरमा महँगिएका छन्। यसबीच अस्ट्रेलियन डलरको भाउ भने १ रुपैयाँ ४२ पैसा सस्तिएको छ। डलर र अधिकांश मुद्राको तुलनामा भारतीय मुद्रा निकै कमजोर हुँदै गएपछि भारतीय रुपैयाँ (भारु)सँग स्थिर विनिमय भएको नेपाली मुद्रा पनि सस्तिएको हो।

अन्तर्राष्ट्रिय बजार विश्लेषकले भारत, इन्डोनेसिया र दक्षिण कोरियाली मुद्राको भाउमा आउँदा दिन अझै बढी उतारचढाव आउनसक्ने आँकलन गरेका छन्। फ्रान्सेली वित्तीय संस्था क्रेडिट एग्रिकोलका विश्लेषकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले आगामी दिन भारु अझै सस्तिनसक्ने उल्लेख गरेका छन्।

विदेशी मुद्रामात्र होइन, सुनको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको छ। नेपालमा लकडाउन सुरु हुनुअघि निकै फराकिलो दरले सस्तिइसकेको सुन अहिले पुनः उच्चतम विन्दु नजिक पुगेको छ।