हेलिकोप्टरबाट गर्भवतीको उद्धार

Health-Education

सोलुखुम्बु, चैत २९ गते ।  खुम्बु पासाङल्हामु गाउँपालिका २ की २६ वर्षीया मिङ्मारडोपा शेर्पाको हेलिकोप्टरमार्फत गाउँपालिका आफँैले शुक्रबार उद्धार गरेको जनाएको छ ।
सिम्रिक एयरको हेलिकोप्टरमार्फत अपराह्न ३ बजे उद्धार गरी काठमाडौँ लगिएको हो । पेटमा शिशु उल्टो अवस्थामा रहेकाले शल्यक्रिया गर्नुपर्ने भएकाले उद्धार गरि शेर्पालाई काठमाडौँको ह्याम्स अस्पताल पु¥याइएको छ ।
‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गरिँदै आएको र बिहीबारदेखि उक्त कार्यक्रममार्फत उद्धार गर्ने प्रयास गरिए पनि सफल नहुँदा गाउँपालिका आफैँले काठमाडौँसम्म लैजाने व्यवस्था गरेको हो । सोलुखुम्बु जस्तो हिमाली जिल्लामा कानूनी प्रक्रियाकै कारण गर्भवतीलाई उक्त कार्यक्रमले छुन नसक्दा समस्या भएको स्थानीयको गुनासो छ ।


करीब १५ दिन अगाडि पनि महाकुलुङ गाउँपालिकाकी एक गर्भवतीको उद्धार गरी काठमाडौँ लगिएको थियो । हिमाली जिल्ला सोलुखुम्बुमा मान्यताप्राप्त बर्थिङ सेन्टर भए पनि शल्यक्रिया गर्नुपर्ने अवस्थाका लागि भने हेलिकोप्टरमार्फत काठमाडौँ लानको विकल्प छैन ।