वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि
काठमाडौं – पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका २४ जनासहित थप ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएकोमा तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको मन्त्रालय सम्बद्ध स्रोतले बताएको छ ।
१३ दिनदेखि वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।
संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएको बुझिएको छ ।
यसअघि नेपालमा ९ जना नेपालीमा कोरोना भाइरस ‘कोभिड -१९’ पोजेटिभ देखिएको छ । ति मध्ये एकजना स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने बाँकी ८ जना संक्रमितको उपचार भइरहेको छ। जसमा चार जना धनगढीमा, दुई जना बाग्लुङ र दुई जनाको टेकुमा उपचार भइरहेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।