लकडाउनका कारणले साँझ बिहान चुलो नबलेका दैनिक ज्यालादारी श्रमिक र विपन्न परिवारलाई मादी र माछापुच्छ्रे गाउँपालिकाले राहत विरतण गरेका छन् । लकडाउनबाट घर बाहिर निस्कन नपाएपछि साँझ बिहान हातमुख जोर्न धौधौ परेका मजदुर, विपन्न, असाहाय तथा गरिब परिवारको लगत सङ्कलन गरी ती दुई पालिकाले एक हजार २७७ परिवारलाई सम्बन्धित वडामा राहत वितरण गरिएको जनाएका छन् ।
मादीले पहिलो चरणमा ६५२ परिवारलाई राहत वितरण गरिएको जनाएको छ । राहतमा प्रतिपरिवार २५ केजीको एक बोरा चामल, दाल, चिनी र नुन एक केजीका दरले रु दुई हजार बराबरको खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए ।
यसैगरी पर्यटन व्यवसायी एवं राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य महेन्द्र गुरुङले एक लाख एक हजार ५०० र इशानेश्वर हार्डवेयरले २० हजार सहयोग जम्मा गरेको गाउँपालिकाले जनाएको छ ।
माछापुच्छे गाउँपालिकाले ६२५ विपन्न परिवारलाई राहत वितरण शुरु गरेको छ । शुक्रबार र शनिबार अधिकांश वडामा राहत विरतण गरिएको र बाँकी वडामा आज वितरण गरिसकिने गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताए ।
गाउँपालिकाले राहतका लागि तीनथरि प्याकेज बनाएको जनाएको छ । पाँच जना सदस्य रहेको परिवारलाई ३० केजीको एक बोरा चामल, दुई केजी दाल, एक लिटर टेल, एक पोका नुन, एक पोका बेसार तथा साबुनको ‘फुलप्याकेज’ वितरण गरिएको बताइन्छ ।