काठमाडौं, वैशाख ०३ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिंदै आएको सहयोग बन्द गर्न निर्देशन दिनुभएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोपका विषयमा आफ्नो मूल जिम्मेवारी निर्वाह गर्नमै असफल रहेको भन्दै राष्ट्रपति ट्रम्पले सहयोग रोक्ने चेतावनी दिनुभएको हो ।
राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघीय निकायले चीनमा कोरोना भाइरस देखापरेपछि त्यसको सही व्यवस्थापन गर्न नसकेकै कारण अन्यत्र फैलिएको आरोप लगाउनु भएको छ ।
यसअघि राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनले चीनप्रति बढी उदारता देखाएको आरोप लगाउनु भएको थियो । अमेरिकामा कोरोनाको संक्रमण फैलिनुमा राष्ट्रपति ट्रम्प आफ्नै देशमा आलोचित हुनुहुन्छ ।
ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोपका विषयमा सही व्यवस्थापन गर्न नसकेको र आफ्नो जिम्मेवारीबाट चुकेकै कारण विश्वभर कोरोनाको प्रकोप फैलिएको भन्दै सहयोग बन्द गर्न निर्देशन दिएको बताउनुभयो ।
अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता रहेको छ । संगठनको कुल बजेटको १५ प्रतिशत सहयोग अमेरिकाले मात्रै दिंदै आएको छ । गत वर्ष अमेरिकाले ४० करोड अमेरिकी डलर सहयोग डब्लु.एच.ओलाई उपलब्ध गराएको थियो ।
विश्वमै संयुक्त राज्य अमेरिका कोरोनाबाट सबैभन्दा प्रभावित छ । अमेरिकामा हालसम्म ५ लाख ९२ हजार ७ सय ४३ जनामा कोभिड-१९को संक्रमण भइसकेको छ भने मृत्यु हुनेको संख्या पनि २५ हजार २ सय ३९ पुगेको छ ।
अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर हालसम्म १९ लाख ७३ हजार ७ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भइसकेको छ। यसै गरी भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि १ लाख २५ हजार ९ सय १० पुगेको छ ।
