संसारमा केही यस्ता देश छन् जहाँ एउटा पनि संक्रमित देखिएको छैन। एसियामा तुर्कमेनिस्तान यस्तो देश हो जहाँ हालसम्म कोरोना संक्रमण छैन।
यद्यपि विशेषज्ञहरु भने सरकारले सूचना लुकाएको आशंका गर्छन्। यसबाट महामारीविरुद्धका तयारी र प्रयासमाथि बाधा पुग्ने उनीहरुको बुझाई छ।
पुरै विश्व कोरोना महामारीसँग जुधिरहेका बेला र संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्था छ। तर, यस्तो बेला तुर्कमेनिस्तानमा भने मंगलबार विश्व स्वास्थ्य दिवसका अवसरमा साइकल र्याली निकालिएको छ। पुरा विश्व कोरोनाको त्रासमा रहेका बेला यहाँ भने निष्फिक्री दिवस मनाइयो।
मध्य एसियाली देश तुर्कमेनिस्तानले हालसम्म एउटा संक्रमित नदेखिएको तथ्यांक दिइरहेको छ। तर, युरोपेली चिकित्सकहरु सेन्सरशिपका लागि चर्चित सरकारका तर्फबाट जारी तथ्यांकमाथि आशंका गरिरहेका छन्।
तुर्कमेनिस्तानको प्रशासनले भने कोरोना भाइरसको संक्रमण आउन नदिन सम्पूर्ण कदम चालिरहेको र कोही संक्रमित भए उनीहरुको खोजी भइरहेको बताएको छ।
तुर्कमेनिस्तानले संयुक्त राष्ट्रसंघका एजेन्सीहरुसँग मिलेर कोरोनाको सम्भावित जोखिमको सामना गर्न एक्सन प्लानमाथि पनि छलफल गरिरहेको छ।
तुर्कमेनिस्तानले करिब एक महिना अघि नै सबै सीमा बन्द गरेको थियो।
यहाँ कोरोना संक्रमणलाई लिएर नागरिकमा सचेतना बढेको छ। शहरहरुमा आवतजावतमा रोक लगाइएको छ भने राजधानी अश्गाबाटमा आउन चिकित्सकले दिएको आफू स्वस्थ रहेको रिपोर्ट आवश्यक पर्छ।
कोरोनाको सम्भावित जोखिमविरुद्ध बजार र गल्लीहरुमा कीटनाशक औषधि छर्किन थालिएको छ।
बाँकी विश्वको तुलनामा तुर्कमेनिस्तानमा मानिसहरुको दैनिक जनजीवन सामान्य छ।
क्याफे र रेष्टुरेन्ट खुला छन्। विहेमा सहभागीको भीडभाड छ। कोही पनि मास्क लगाउँदैनन्। ठूलो संख्यामा भेला हुन छाडेका छैनन्। सामुहिक एक्सरसाइज (व्यायाम) चलिरहेको छ।
धेरै तुर्कमेनिस्तानमा कोरोना भाइरस महामारीको गम्भीरता पूर्ण रुपमा नजरअन्दाज गरिएको टिप्पणी पनि गरिरहेका छन्।