काठमाडौं । भारतबाट आएका ६५८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतको विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई यहाँस्थित विभिन्न क्वारेन्टाइनमा राखिएको हो ।
सप्तरीको बलान बिहुल गाउँपालिकास्थित क्वारेन्टाइनमा मात्र एकसय भन्दा बढी व्यक्तिलाई राखिएको जनाइएको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार सरकारले नेपाल प्रवेश गर्न रोक लगाए पनि लुकीछिपी प्रवेश गर्नेको सङ्ख्या अत्यधिक बढिरहेको बताए ।
उहाँका अनुसार भारतसँग सीमानाका जोडिएका सप्तरीका विभिन्न नाकाबाट यसअघि आएका ४२२ र विगत दुई दिनको अवधिमा लुकीछिपी भारतबाट आएका २३६ जना गरी कूल ६५८ जनालाई अहिले विभिन्न क्वारेन्टाइनमा राखिएको बताए । उनीहरुलाई कोरोनासम्बन्धी जाँचसमेत गरिरहेको उनले जानकारी दिए । उनले भने, “जिल्लाको बलान बिहुल, बोदेबर्साइन, डाक्नेश्वरी, राजगढ, छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिकाले भारतबाट नेपाल प्रवेश गर्नेलाई तत्कालका लागि सुरक्षित राख्न अस्थायी क्याम्प निर्माण कार्यलाई अगाडि बढाइएको छ ।”
सप्तरी छिर्नेलाई तत्काल क्वारेन्टाइनमा बस्न लगाई विवरण सङ्कलन गरी सम्वन्धित नगरपालिका तथा गाउँपालिकालाई खबर गर्ने जिम्मा लगाइने स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए । उनले भने “उनीहरुमा सङ्क्रमण हुनसक्ने सम्भावना छ, घरपरिवारमा घुलमिल भए परिवारमा समेत सर्न सक्ने खतरा रहेकाले हामी सबै जिम्मेवार भएर त्यस्ता व्यक्तिलाई अविलम्ब क्वारेन्टाइन, अस्पताल वा स्वास्थ्य संस्थाको सम्पर्कमा पठाउन वा आफैँ जान आग्रह गरिएको छ ।”
यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुर सरकारले नेपाल प्रवेश गर्न रोक लगाएका कारण सोहीअनुसार सुरक्षाकर्मी रोक्ने गरेको प्रतिक्रिया दिए । लुकीछिपी प्रवेश गर्नेहरुको सुरक्षितरुपमा व्यवस्थापन गर्न आफूहरु गम्भीर रहेको उनको भनाइ छ ।