बुटवल, ९ जेठ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शव चौबीस घण्टासम्म उठ्न सकेको छैन । जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत ४१ वर्षका बिरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो।
बिहीबार मृतकको दाहसंस्कार बुटवलको मगरघाटमा गर्ने कुरा भएपनि घाट व्यवस्थापन समितिले नदिएपछि तिलोत्तमा १४ को तिनाउ घाटमा गर्ने भनी सबै तयारी पूरा भए पनि रातिसम्म शव नै नआएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।
सुरुमा ज्वरोको समस्या देखिएका मृतकले गाउँकै पोलिक्लिनिकमा चेकजाँच गराएर टाइफाइडको औषधि खाएका थिए । वैशाख ३० गते रातिदेखि नै वान्ता भएपछि जेठ १ गते अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा जाँदा जण्डिस बिग्रिएको भनी रेफर गरिएको थियो ।
जेठ १ गते नै क्रिमसन अस्पताल आएका उनमा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम, निमोनिया र मुटुको समस्या देखिएको क्रिमसन अस्पतालले जनाएको थियो ।