एजेन्सी, १० । जापानकी टेनिस खेलाडी नाओमी ओसाका बिश्वकै सर्वाधिक कमाउने महिला खेलाडी बन्न सफल भएकी छन्।
विश्वप्रसिद्ध फोर्ब्स म्यागजिनका अनुसार बितेको एक बर्षमा ओसाकाले जितेका प्रतियोगिताहरु र प्रायोजकहरुबाट ३०।७ मिलियन पाउण्ड कमाएको उल्लेख गरिएको छ। जुन एक वर्षभित्र महिला खेलाडीमध्ये कै सर्वाधिक आम्दानी भएको बताइएको छ।
२२ बर्षिया ओसाकाले दुई पटक ग्राण्ड स्ल्याम टेनिस प्रतियोगिता जितिसकेकी छिन्। बिश्वबिख्यात ब्राण्ड नाइकी, निसान र योनेक्स सहित ओसाकाले अन्य थुप्रै प्रायोजकहरुसँग महँगो सम्झौता गरिसकेकी छिन्।
यस क्रममा ओसाकाले अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पछाडी पारेकी छिन्। ओसाकाले कमाएको रकम ३८ बर्षिया विलियम्सले पछिल्लो १२ महिनामा कमाएको भन्दा १।१५ मिलियन पाउण्डले बढी हो। ओसाकाले २०१९ मा अष्ट्रेलियन ओपन पनि जितेकी थिइन्। तर, लगातार लय गुमाउन थालेपछि उनी बिश्व नम्बर १ बाट १० मा झरिसकेकी छिन्।
१९९० मा फोर्ब्सले महिला खेलाडीहरुको कमाइको तथ्यांक राख्न थालेदेखि टेनिस खेलाडीहरुले यो सुचीमा एक छत्र राज गर्दै आइरहेका छन्। ओसाका फोर्ब्सले तयार पारेको सबैभन्दा बढी कमाउने १ सय खेलाडीहरुको सुचीमा २९ औं स्थानमा रहेकी छिन्। २३ पटककी ग्राण्ड स्ल्याम बिजेता विलियम्स भने ३३ औं स्थानमा छिन्।