२०७७ जेष्ठ १० : काठमाडौँ – रुपन्देही, कपिलवस्तु र दाङका ७ जनामा शनिबार कोरोना पोजेटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ९१ पुगेको छ ।
सात जनामध्ये दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा भाडामा बस्दै आएका व्यक्ति हुन् । उनी मदानेकै एक बैंकका कर्मचारी हुन् ।
रुपन्देहीको तीनजना गैडहवा गाउँपालिकाका हुन् भने कपिलवस्तुका तीनजना मायादेवी गाउपालिकाका हुन् । उनीहरु ६ जना २० देखि ४० वर्षका पुरुषहरु रहेका प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए । गैडहवा गाउँपालिकामा शुक्रबार मात्रै ७ जनामा कोरोना पाजेटिभ देखिएको थियो । उक्त पालिकामा संक्रमितको संख्या २० जना पुगेको छ ।
पालिकाहरुमा कोरोना संक्रमित बढेसंगै उनीहरुलाई थप उपचारका लागि राख्ने आइसोलेसन बेड नहुँदा समस्या भएको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए । भैरहवाको भीम अस्पताल र बुटवलको धागो कारखानाका आइसोलेसन बेड बिरामीले भरिएकाले नयां संक्रमितलाई राख्ने ठाउं नभएको उनले गुनासो गरे ।