कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा आफ्नो सुरक्षार्थ खटिएका प्रहरी फिर्ता

Politics

२०७७ जेष्ठ ११  : काठमाडौँ  – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालयका लागि आवश्यक रहेको भन्दै आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेका हुन् । कोरोनाभाइरस (कोभिड १९) को महामारीका समयमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै आफ्नो सुरक्षामा खटिइएका प्रहरीलाई फिर्ता पठाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले ८ जना प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । दुई जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक र ५ जना जवानलाई मुख्यमन्त्रीले जिल्ला प्रहरी कार्यालयमा पठाएको उनको भनाई छ ।