काठमाडौं, ११ जेठ । दुई महिनाअघि अष्ट्रेलियाबाट नेपाल आएका सोह्रखुट्टेका एक वृद्धमा कोरोना संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार काठमाडौं महानगरपालिका वडानम्बर १६ सोह्रखुट्टेका ६९ वर्षीय वृद्धमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको थियो।
कोरोना संक्रमण भएका वृद्ध अष्ट्रेलियाबाट दुबई या कतार ट्रान्जिट पारेर चैत्र ३ गते नेपाल आएको वडाध्यक्ष मुकुन्द रिजाल जानकारी दिनुभयो । उनलाई अहिले आइसोलेसनमा लगिसकिएको छ र उनका सम्पर्कमा आएका १० जनालाई पनि पहिचान गरिसकेको वडाध्यक्ष रिजाले बताउनुभयो । मन्त्रालयले आइतबार काठमाडौँका १ सहित थप १९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जनाएको थियो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ।
प्रारम्भिक चरणमा विदेशबाट आएका व्यक्तिको विवरण संकलन गर्दा उनी छुटेकाले पुनः खोजेर परीक्षण गर्दा कोरोना पुष्टि भएको उनले बताए । ती संक्रमितकी पत्नीमा भने कोरोना नेगेटिभ नतिजा आएको छ । ७० दिन सँगसँगै बसेका श्रीमान–श्रीमतीमध्ये श्रीमानलाई मात्रै कोरोना हुनु र श्रीमतीलाई नहुनु अर्काे अचम्मको भाइरस देखिएको छ ।
ती संक्रमितले तरकारी बजार र डेरीबाहेक कतै पनि नगएको जानकारी दिएका छन् । ती संक्रमितलाई हाल टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
केही दिनअघि डडेल्धुरामा जिल्लाबाहिर ट्राभल हिस्ट्री नभएका सरकारी कर्मचारीमा जिल्लामै पहिलो पटक कोरोना देखिएको थियो । कोरोनाले एकपछि अर्काे अचम्म देखाइरहेको छ ।