२०७७ जेष्ठ १४ : काठमाडौँ – हालै जारी गरिएको नयाँ नक्सालाई आधिकारिकता दिन सरकारले गरेको संविधान संशोधन प्रस्तावबाट प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पछि हटिदिँदा भारत खुसी भएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा छलफल गर्ने भन्दै केही दिन समय मागेर पछि हट्दा भारतीय सञ्चारमाध्यममा बुधबार त्यहाँको सरकारको खुसी अभिव्यक्त भएका छन् ।
कांग्रेस पछि नहटेको भए आजको प्रतिनिधिसभा कानुनमन्त्री डा। शिवमाया तुम्बाहाम्फेले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सालाई पारित गर्ने गरी ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची थियो । तर कांग्रेस पछि हटिदिँदा संसद सचिवालयले यसबारे तयार पारेको कार्यसूचीको ड्राफ्ट अन्तिम समयमा फिर्ता लिएको छ ।
बुधबार बिहानैदेखि भारतीय सञ्चारमाध्यममा नेपालको नयाँ नक्साले आधिकारिकता नपाएर तत्काललाई स्थगित भएको समाचार प्रकाशित/प्रसारित भएका छन् ।
नेपालको नयाँ नक्सा तत्काललाई स्थगित भएको आशयसहितका समाचार त्यहाँ सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीनिकट टेलिभिजन र अनलाइनहरुले प्राथमिकताका साथ देखाइरहेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीनिकट पत्रकार अर्णव गोश्वामी सञ्चालक रहेको रिपब्लिक टेलिभिजनले ुविवादित नक्साु लाई आधिकारिकता दिने गरी सरकारले गरेको संविधान संशोधन प्रस्ताव पछि सरेको समाचार प्रसारण गरेको छ । उसले नेपालको नयाँ नक्सा रोकिँदा कूटनीतिकरुपमा भारतको जित पनि भएको जिकिर गरेको छ ।