चीनले नाप्यो सगरमाथाको उचाइ, छलफलपछि घोषणा गरिने

International

२०७७ जेष्ठ १५ : काठमाडौँ – चीनले सर्वोच्च शिखर सगरमाथाको उचाई पुनस्मापन गरेको छ । प्राविधिकहरूको आठ सदस्यीय आरोहण बुधबार सगरमाथाको चुचुरोमा पुगेर आवश्यक तथ्यांक संकलन गरेको हो । नेपाल र चीनबीचको छलफलपछि मात्रै उचाईको घोषणा मिति तय गरिने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उचाई मापनकै क्रममा नेपाली टोली पनि गत वर्ष सगरमाथाको चुचुरोमा पुगेको थियो । सिन्ह्वासँग कुराकानीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले भनेकी छन्,हामी पनि लगभग यो प्रक्रियाको अन्त्यमा छौं । हामी चिनियाँ पक्षतर्फ भएको प्रगतिको प्रतीक्षा गरिराखेका छौं ।

आपसी छलफलपछि संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई देशको सहमति छ। नेपाल–चीनबीच गत कार्तिक महिनामा भएको सहमति अनुरुप दुवै देशका वैज्ञानिकहरूले आ–आफ्नो सीमा क्षेत्रबाट उचाइ मापनको प्रक्रिया थालेका थिए ।

नेपालका तर्फबाट नापी अधिकृत खिमलाल गौतमको टोली चुचुरोमा पुगेको थियो । गत वर्ष भएको उक्त आरोहणका क्रममा गौतमले बायाँ गोडाको बुढीऔंला गुमाएका थिए ।

चिनियाँ सर्वे टोलीको सफलतामा खुसी व्यक्त गर्दै गौतमले भनेका छन्, यो संसारभरका नापी–प्राविधिकहरूले गर्व गर्नुपर्ने विषय हो । चिनियाँ नापी दलले प्रत्यक्ष गुरुत्वाकर्षण शक्तिको मापन गरे कि गरेनन् भन्‍नेमा मलाई निकै कौतुहलता भइरहेको छ ।  नेपाल अहिले डेटा–प्रोसेसिङको चरणमा छ, हामी छिट्टै उचाइको घोषणा गर्ने स्थितिमा हुनेछौं  उचाइ मापन कार्यक्रमका संयोजक शुशिल डंगोलले भने । ७२ सालको भूकम्पपश्चात सगरमाथाको उचाइ घटेको टिप्पणी हुन थालेपछि उचाइ मापन कार्यक्रमलाई दुवै देशले प्राथमिकतामा राखेका थिए ।