२०७७ जेष्ठ १६ : काठमाडौँ – इटालियन सिरी ए फुटबलका बाँकी खेलहरु आउँदो जुनको २० देखि सुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि सिरी ए का खेलहरु रोकिएका छन् । तर, इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पादाफोराले जुन २० देखि लिग पुनः सुरु गर्ने अनुमति दिएको पुष्टि गरेका हुन् ।
सिरी ए फुटबलका खेलहरु गएको मार्च ९ देखि बन्द भएका छन् । १२ चरणका खेलहरु बाँकी हुँदा युभेन्टस लिगको शीर्ष स्थानमा छ । खेलाडीहरु मे को सुरुमा व्यक्तिगत प्रशिक्षणमा आएका थिए ।
यो हप्ताको सुरुमा उनीहरुले समूहमा प्रशिक्षण थालेका छन् । मे २० मा इटालियन फुटबल फेडेरेशन (एफआइजिसी) ले अगस्ट २० सम्ममा यो सिजन सक्ने गरी समयसीमा तोकेको थियो । इटालीका शीर्ष तीन लिगका यो सिजनका खेलहरु पूरा गर्ने एफआइजिसीले बताएको छ ।