२०७७ जेष्ठ १६ : काठमाडौँ – बुधवार अस्पतालमै दुई चिकित्सक माथि कुटपिट भएको घटना पछि नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत चिकित्सकहरु आन्दोलित भएका छन् । सो घटनाका दोषीलाई कारबाहीको दायरमा ल्याउन अस्पताल प्रशासनले सहयोग गर्नु पर्नेमा उल्टै उजुरी नदिन दबाव दिएको र सिसीटिभी फुटेज समेत डिलिट गरको भन्दै चिकित्सकहरु नै आन्दोलिन हुनुपरेको हो ।
गत बुधवार नेपाल मेडिकल कलेज अस्पतालमा कार्यरत चिकित्सकलाई बिरामीका आफ्न्तले अपशब्द बोल्दै कुटपिट गरेका थिए । इमान्दारीपूर्वक उपचार गर्दागर्दै विरामीको ज्यान गएपछि उनको आफन्तले चिकित्सकमाथि हातपात गरेका थिए । तर कुटपिट गर्ने व्यक्तिलाई प्रशासन र प्रहरीले कारबाही नगरेको भन्दै चिकित्सकहरु नै आन्दोलित बनेका हुन् । उनीहरुले आकस्मिक र फिवर क्लिनिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेका छन् । आवासीय चिकित्सक, मेडिकल अफिसर र प्रशिक्षार्थी चिकित्सकहरुले सिसीटिभीमा कैद भएको चिकित्सक कुटिएको भिडियो डिलिट गरिदिएको भन्दै अस्पताल प्रशासनको विरोधमा उत्रिएका हुन् ।
प्रशासनले आफ्नो अस्पतालमा कार्यरत चिकित्सकको सुरक्षा गर्नु त परेको कुरा उल्टै चिकित्सकलाई कुटपिट गर्ने बिरुद्ध उजुरी नदिन भन्दै धम्की दिएको चिकित्सकहरुले आरोप लाएका छन् ।
अस्पताल प्रशासनले कुटपिट गर्ने स्थानीयसंग मिलेर आफूहरुलाई थप पीडित बनाएको चिकित्सकहरुको दुखेसो छ । कोरोना महामारीमा आफुहरु आवश्यक सुरक्षा साधन बिना चौविस घण्टा बिरामीको सेवामा खटिँदा समेत कुटपिट हुने अवस्था आएको भन्दै सुरक्षाको प्रत्याभूति गर्नूपर्ने चिकित्सकहरुको माग छ ।
चिकित्सकको आन्दोलनका कारण अस्पतालमा बहिरंग सेवा ठप्प भएको छ । कोरोना महामारीको समयमा पहिलो पंक्तिमा रहेका काम गर्नुपर्ने चिकित्सकहरुलाई पीडित माथि थप पीडित बनाउने क्रियाकलाप गरिनु हुन्न ।