२०७७ जेष्ठ १८ : काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका बिरामीको उपचारमा आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ ।
कोरोना सङ्क्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार तयार पारिएको औषधि प्रयोगमा ल्याइएको हो ।
जिल्ला अस्पतालसँग समन्वय गरेर आफूहरुले काम गरिरहेको जिल्ला आयुर्वेदिक अस्पताल लागिपरेको अस्पतालकी प्रमुख चिकित्सक सुभद्रा कार्कीले बताइन् । उनले भनिन्, “स्थानीय जङ्गलमा गएर गुर्जोलगायतका जडीबुटी खोजेर ल्याएर सङ्क्रमित बिरामीलाई ताजा गुर्जोको रसका साथै जडीबुटीबाट बनाएका औषधि खाने व्यवस्था मिलाएका छौँ ।”
गुर्जो, असोगन्धा चूर्ण, महासुदर्शन चूर्णलगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोगमा ल्याएको जिल्ला आयुर्वेदिक अस्पतालले जनाएको छ ।
आयुवेदिक औषधिहरुको प्रयोगले कुनै नकारात्मक असर नपर्ने चिकित्सकहरुकले बताएकाछन । विभिन्न विज्ञहरुको अनुसन्धानले जडिबुटीहरुमा भएका रासायनिक पदार्थमा एन्टी अक्सिडेन्ट, इम्युनोमोडुलेसनका साथै एनटीइन्फलामेटरी गुणहरु देखाएको हुदा यसको प्रयोग आवश्यक रहेको जनाईएको छ ।
भिडियो कन्फेरेन्सका माध्यमबाट आइसोलेशनमा रहेका सङ्क्रमितलाई योग प्रणायामका साथै ध्यानका विधिसमेत आफूले सिकाउने गरेको डा कार्कीले बताइन् । भारतबाट आएर वालिङको क्वारेन्टिनमा बसेका चार पुरुष र एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि अहिले जिल्ला अस्पतालको कोरोना आइसोलेशन कक्षमा राखेर उपचार गरिएको छ भने एक महिलालाई पोखरा लगिएको छ । उनीहरुमा सङ्क्रमणका अन्य लक्षण नदेखिएको र अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।