एक करोडको नयाँ गलैँचा फेर्दै राष्ट्रपति कार्यालय

Politics

काठमाडौँ  –  राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर नयाँ गलैँचा राख्न थालिएको छ ।  ३ वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा राखिएका गलैंचा फालेर कोठाहरू भव्य बनाउन थालिएको छ ।राष्ट्रपति कार्यालयमा गलैंचा फेर्ने ठेक्का पाएको हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङको हो । उनी तनहुँ–१ (क) बाट निर्वाचित भएका हुन् । कम्पनीले लकडाउनमा पनि गलैंचा बुन्ने काम धमाधम गरिरहेको छ । राष्ट्रपति कार्यालयको २ वटा ठूला हलका लागि मात्र करिब ३०/३० लाख रुपैयाँ पर्ने गलैंचा राख्न लागिएको छ । अन्य कोठाहरूमा करीब ४० लाखको गलैंचा राख्ने तयारी छ ।‘२ ठूला हलका लागि विशेष खालको गलैंचा बनाउने काम फ्क्याट्रीमा भइरहेको छ,’ हिमालय डेकोरकी प्रबन्धक शोभा गुरुङले भनिन्, ‘नेपाली मौलिकता झल्कने गरी बनाउन लागिएको छ, भव्य र मौलिक बनाउन लागिएकोले लगानी पनि त्यहीअनुसार लाग्ने हो ।’

विदेशी अतिथिहरू आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढ्ने गरी महंगो गलैंचा बिछ्याउन लागिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘राष्ट्रपतिको व्यक्तिगत रुचि होइन । नेपाली गलैंचाको प्रवद्र्धन हुने गरी विशेष खालको गलैंचा राख्न थालिएको हो, फेरि विदेशी पाहुना आउँदा देशको प्रतिष्ठा पनि महत्त्वपूर्ण हुन्छ ।’राष्ट्रपति कार्यालयमा महंगो गलैंचा राखेर देशको प्रतिष्ठा बढाउने योजनाकारहरूले जनप्रतिनिधिको प्रतिष्ठा कसरी बढ्छ भनेर भने ख्याल गरेको देखिएको छैन । नेपालको विकासमा आर्थिक सहयोग गर्ने नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटी साइकल चढेर कार्यालय जान्छन्, क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राभर आफ्नो निवास आफैं ‘पेन्ट’ गर्छिन् । यसो गर्दा प्रतिष्ठा उनीहरूको झन् बढेको छ ।

कोरोना संक्रमणका कारण मितव्ययी हुने भनेर सरकारले आह्वान गरिरहेको बेला देशको सर्वोच्च सम्मानित निकायमा फजुल खर्च हुन लागेकोमा सरकारले कुनै टिप्पणी गरेको छैन । राष्ट्रपति कार्यालयका एक अधिकारी भने लकडाउन सुरू हुनुभन्दा अघि नै प्रक्रिया टुंगो लागेकाले रद्द गर्न नसकिएको बताउँछन् । राष्ट्रपति २०७३ माघमा मात्र शीतलनिवासभित्रकै नयाँ भवनमा सरेकी हुन्, ४० महिनामै महंगो गलैंचा फेर्न थालिएको हो । लकडाउनअघि नै थालिएको प्रक्रिया रद्द गर्न नसकिएको राष्ट्रपति कार्यालयको भनाइ छ ।

‘यो राष्ट्रपतिको व्यक्तिगत रूचि होइन, मौलिकता झल्काउने गलैंचाले देशको प्रतिष्ठा बढाउँछ भनेर राख्न थालिएको हो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तर राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले भने यससम्बन्धी काम सहरी विकास विभागबाट हुने भएकाले आफूलाई विस्तृत जानकारी नभएको बताए । विभाग अन्तर्गतको भवन निर्माण सम्भार डिभिजन कार्यालयले भीभीआईपीको निवासको लागि सजावटको काम गर्दछ ।

उता राष्ट्रपति कार्यालय अझ फराकिलो बनाउन सँगैको प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालय हटाउन सरकारले ताकेता गरेको छ । सीआईबीलाई साउनभित्र अन्यत्र सारेर ठाउँ खाली गर्न ताकेता गरिएको छ तर सीआईबीको कार्यालय कहाँ राख्ने भन्ने विषयमा सरकारले कुनै पहल गरेको छैन ।

‘हामी त सरकारी मान्छे हौं, जहाँ पठायो त्यही जान्छौं, तर कहाँ जाने भनेर त सरकारले भनिदिनुपर्‍यो, कार्यालय झोलामा बोकेर हिँड्न त मिलेन नि,’ सीआइबीका एक अधिकारीले भने ।

प्रहरीलाई तालिम दिने सबैभन्दा ठूलो संस्था राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पनि राष्ट्रपति कार्यालय विस्तारकै लागि विस्थापित गर्न लागिएको छ । राष्ट्रपति कार्यालयका लागि हेलिप्याड तथा बगैंचा बनाउन तालिम प्रतिष्ठान अन्यत्र सार्न खोजिएकोे हो । आफ्नो ऐतिहासिक धरोहर तालिम केन्द्र हटाउन लागिएकोमा पनि प्रहरीको असन्तुष्टि छ ।