राजपा र समाजवादी पार्टीको संविधान संशोधन विधेयक संसदमा दर्ता

Politics

२०७७ जेष्ठ १९  : काठमाडौँ –  संविधान संशोधनको माग गर्दै आएका राष्ट्रिय जनता पार्टी ९राजपा० र समाजवादी पार्टीले सोमबार संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । सोमबार राजपा नेता लक्ष्मणलाल कर्णसहितको टोलीले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता गराएका हुन् ।

यसअघि गत शुक्रबार संसदले उनीहरुको संशोधन विधेयक दर्ता गरेको थिएन । त्यतिबेला संघीय संसदका महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्ने भनी फर्काएका थिए । सोमबार भने उनले विधेयक दर्ता गरे ।

विधेयक दर्ता गरेपछि नेता कर्णले सत्तारुढ दलले आफूहरुको विधेयकमा समर्थन नगरे आफूहरु पनि सरकारले ल्याएको विधेयकमा समर्थन नगर्ने बताउनु भयो  । ‘सरकारले पनि अर्को विधेयक दर्ता गरेको छ, सरकारले मान्दैन भने हामीले के गर्ने हो त्यो गर्छौं’ उहाँले भन्नु भयो ‘हाम्रो मानेन भने उनीहरुको मान्न बाध्य हुन्नौं ।’

नेता कर्णले आफूहरुको विधेयकलाई नेपाली कांग्रेसले पनि समर्थन गर्नुपर्ने बताउनु भयो ।  ‘उहाँहरुले पनि हस्ताक्षर गर्न आउनुपर्थ्यो, आउनुभएन । उहाँहरुले चाहनुहुन्छ भने अर्को विधेयक दर्ता गर्न सक्नुहुन्छ ।’